सरकारले अनुमति नै नदिएको धानको बीउ बिक्री गर्ने फर्माबाट बीउ बरामद — OSNepal

सरकारले अनुमति नै नदिएको धानको बीउ बिक्री गर्ने फर्माबाट बीउ बरामद

LC (KTM) May 22, 2021 0

नवलपुर, ८ जेठ-सरकारले अनुमति नै नदिएको धानको बीउ जिल्लाका विभिन्न एग्रोभेटमा बिक्री वितरण भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को संयोजनमा कृषि ज्ञान केन्द्रले गरेको अनुगमनका क्रममा देवचुली नगरपालिकास्थित रजहरमा अवैध धानको बीउ बिक्री वितरण भएको पाइएको हो ।

कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत मीरा चौधरीले रजहरको चौधरी एग्रो सेन्टर र मगल भेट फर्माबाट अवैध रुपमा बिक्री भइरहेको ३२० किलो धानको बीउ बरामद गरिएको बताउनुभयो । चौधरीका अनुसार अनुगमन टोलीले ती पसलबाट बिपिटी ५२०४ जातको धानको बीउ ८० किलो र सुपर सोना काभेरी जातको धानको बीउ २४० किलो बरामद गरेको छ ।

सरकारले अनुमति नै नदिएको धानको बीउ बिक्री गर्ने एग्रोभेटलाई आफूहरुले सचेत बनाएर छोडेर चौधरीले बताउनुभयो । कृषकले धानको बीउ राख्ने समय भएको र गत वर्ष किसान ठगिएका कारण यस पटक त्यस्तो हुन नदिन र कालोबजारी रोक्न अनुगमन गरिएको बाली संरक्षण अधिकृत चौधरीले जानकारी दिनुभयो । जिल्लाका तीनवटा कृषि सहकारीले बीउ परीक्षण गरेर आधिकारिक रुपमा किसानलाई उपलब्ध गराइरहेका भन्दै चौधरीले सोही स्थानबाट खरीद गर्न किसानलाई आग्रह गर्नुभयो ।

अनुगमनका क्रममा अधिकांश एग्रोभेटले बिक्री गर्ने विषादी र कुखुराका दाना तथा औषधि एकै ठाउँमा राख्ने गरेको, विषादी बिक्री वितरणको अनुमतिपत्र नवीकरण नगरेको, म्याद सकिएका विषादी तथा सामग्री राख्ने छुट्टै ठाउँ नबनाएको भेटिएको चौधरीले बताउनुभयो । कृषि ज्ञान केन्द्रले तीनवटा टोली बनाएर जिल्लाका एग्रोभेट र भेटेरिनरी पसलमा अनुगमन गरेको थियो । बाली संरक्षण अधिकृत चौधरीले सरकारले प्रतिबन्ध लगाएका धानको बीउ नकिन्न र जिल्लामा बिक्री भएको थाहा पाए आफूहरुलाई जानकारी गराउन आग्रह गर्नुभएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर