सुनकोशीको पानीले ५५ हजारको जिन्दगानी जोगाउँदै थियो कोरोनाका कारण रोकियो काम — OSNepal

 सुनकोशीको पानीले ५५ हजारको जिन्दगानी जोगाउँदै थियो कोरोनाका कारण रोकियो काम

LC (KTM) May 09, 2021 0

काभ्रेपलाञ्चोक, २६ वैशाख- यहाँको दक्षिणी–पूर्वी भेगअन्तर्गत तेमाल क्षेत्रका बासिन्दामा खानेपानीबाट सुखका दिन आउन अब एक महिना मात्रै बाँकी थियो । वर्षौंदेखि खानेपानीका लागि रातदिन समस्या झैल्दै आएका तेमाल गाउँपालिका र छिमेकी दुई स्थानीय तहका बासिन्दाले सम्भवतः आगामी असारभित्रै घरघरमै खानेपानी पाउँदै थिए ।

कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण अब असारमै खानेपानी पाउने सम्भावना हाललाई टरेको छ । तामाङ समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा पाँच वर्षअघि तेमालमा सुनकोशी नदीबाट पानी लिफ्टिङ गरी खानोपानी उपलब्ध गराइने भएपछि विस्थापनबाट जोगिएका स्थानीय बासिन्दा यतिबेला औधी खुशी पनि देखिएका थिए । सुनकोशीको पानीले ५५ हजारको जिन्दगानी जोगाउँदै थियो ।

“आउँदो असारसम्ममा खानेपानी आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिएका थियौँ, कोरोनाका कारण काम रोकिएको छ, यो आयोजना सम्पन्न गर्न पाए तेमालको एउटा ठूलो सपना साकार हुने थियो”, तेमाल बृहत् सुक्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समिति अध्यक्ष सङ्ग्रामजित लामाले भन्नुभयो । उहाँका अनुसार गत मङ्सिरमा सम्पन्न गर्नुपर्ने आयोजनाको काम अघिल्लो वर्षको कोरोना सङ्क्रमणले र अहिले पनि कोरोनाकै कारण पुनः धकेलियो ।

विसं २०७२ असारमा सम्झौता भएको आयोजनाको काम गत मङ्सिरमा सक्ने लक्ष्य राखिएको थियो । तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करीब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो । भूकम्पलगत्तै भएका खानेपानीका मूल सुक्दै गएपछि तेमालका केही बासिन्दा विस्थापित हुने तर्खरमा थिए, तर बृहत् खानेपानी आयोजनाले रोकेको बताइन्छ ।

नेपाल सरकार, खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड, गाउँपालिकाको एक र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा करीब ९५ प्रतिशत काम सकिएको समितिका अध्यक्ष लामाले जानकारी दिनुभयो । उहाँका अनुसार सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइनेछ । हाल आयोजनाको करीब ९८ प्रतिशत भौतिक निर्माणको काम सकिएको जनाइएको छ ।

अर्को गौरवको आयोजना पाँचखाल नगर शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम धकेलिने भएको छ । अघिल्लो वर्ष नै कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण सम्झौतापछि केही समय धकेलिएको आयोजनाको कामलाई अहिले पनि प्रभाव पार्ने देखिएको आयोजना उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले बताउनुभयो । “सामग्री ढुवानीमा निकै समस्या परेको छ, अन्य निर्माणको काम हाललाई नरोकिए पनि अब कामले निरन्तरता पाउनेमा चिन्ता छ”, उहाँले भन्नुभयो ।

पाँचखाल नगरपालिकाका १० वडाका सात हजारलाई खानेपानी पु¥याउने लक्ष्यका साथ हाल आयोजना कार्यान्वयनको चरणमा रहेको थियो । परियोजनाको २०७६ भदौ १२ खानेपानी आयोजनाअन्तर्गत शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिएको थियो । उक्त खानेपानी आयोजना रु दुई अर्ब २१ करोडको लागतमा अढाई वर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइए पनि निर्माण कम्पनीले रु एक अर्ब ३४ करोड ६६ लाखमा सक्नेछ । आयोजना सम्झौताको सर्तअनुसार कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरेका छन् ।

मण्डनदेउपुर नगरपालिकामा हालै मात्र रु एक अर्बको सुक्खा क्षेत्र बृहत् खानेपानी आयोजना स्वीकृत भएको छ । नगरका १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेका नौ वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको हो । कोरोनाका कारण प्रशासनिक काम भइरहे पनि हाललाई रोकिएको जनाइएको छ ।

“टेन्डर आह्वानलगायत प्रशासनिक काम भइरहँदा कोरोनाले हाललाई रोकियो”, उपभोक्ता समितिका अध्यक्ष रामबहादुर लामाले भन्नुभयो । उहाँका अनुसार खानेपानी आयोजनाका लागि नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको रु ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरको लगानीसहित रु एक अर्बको आयोजना स्वीकृत गरिएको हो ।

आयोजनाका लागि स्थानीयवासीसँग उपभोक्ता समितिले प्रतिउपभोक्ता रु एक हजार व्यहोर्नुपर्ने नीति बनाएको छ । खानेपानी आयोजनाबाट नौ वडाका पाँच हजार ५०५ परिवार लाभान्वित हुनेछन् । नगरस्थित ७ नं वडाको सोते र १० नंको नारिमखर्क भएर बगेको इन्द्रावती नदीमा इनार बनाएर लिफ्टमार्फत नगरका बासिन्दामा खानेपानी उपलब्ध गराइने योजना बनाइएको हो ।

गत चैतदेखि परीक्षणको काम थालेका तीन नगरपालिका धुलिखेल, बनेपा र पनौती समेटिएको काभ्रे भ्याली एकीकृत खानेपानी आयोजनाको थप काम पनि हाललाई रोकिएको छ । सम्झौताअनुसार एक वर्षअघि नै स्थानीयवासीको घरघरमा खानेपानी पु¥याइसक्नुपर्ने भए पनि अघिल्ला वर्षको कोरोनाले आयोजनाको कामलाई रोक्दा धकेलिँदै हालसम्म पनि सम्पन्न गर्न नसकिएको जनाइएको छ । दश वर्षअघि रु एक अर्बको लगानीमा शुरु गरिएको खानेपानी आयोजनाद्वारा करीब ९५ हजार लाभान्वित हुनेछन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर