शल्यकृया सहितको निशुल्क आँखा शिविरबाट स्थानिय लाभान्वित — OSNepal

शल्यकृया सहितको निशुल्क आँखा शिविरबाट स्थानिय लाभान्वित

LC (KTM) October 02, 2021 0

थम्मन थापा/ बागलुङ -गलकोट नगरपालिका ७ मल्ममा निशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविर शनिवार सम्पन्न भएको छ । २ दिने शिविरमा ३८ जनाको निशुल्क शल्यक्रिया गरिएको छ भने २ सय २५ जनाले निशुल्क आँखा परीक्षण गराएका छन् । श्रीकृष्ण भैरव आँखा उपचार केन्द्र गलकोट नगरपालिका ७ मल्म बागलुङको आयोजना तथा श्रीकृष्ण नेत्रालय भैरहवाको चिकित्सक र प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो । आँखामा गम्भीर समस्या भएका बिरामीको शल्यक्रियाका लागि हरिकृष्ण आई केयर फाउण्डेसन रुपन्देही र लायन्स कल्व अफ बुटवल मणिउजेस रुपन्देहीले सहयोग गरेको थियो ।

स्थानीय सिर्जनशील महिला समूह आगाँखेतले व्यवस्थापकीय भुमिका निर्वाह गरेको शिविरमा गलकोट र आसपासका नागरिक प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । आँखामा गम्भीर समस्या देखिएका ३८ जनाको श्रीकृष्ण नेत्रालय भैरहवाका डा. सल्मा केसीले परीक्षण तथा शल्यक्रिया गर्नुभएको थियो । ‘आँखा जीवनकै संवेदनशील अंग हो, यसको ख्याल, सरसफाई हामी त्यति धेरै गर्दैनौ, अहिले त सेतो पुतलीको यस जिल्लामा अलि बढी प्रभाव पनि देखिन्छ,’ डा.केसीले भन्नुभयो, ‘यो मेरो आफ्नै जन्म गाउँ क्षेत्र पनि हो, यो ठाउँमा भोलीका दिनमा पनि यस्ता कर्म गर्न म इच्छुक छु, यसमा स्थानीयको तदारुकता र सहयोग आवश्यक हुन्छ, यस्ता कार्यले धेरै नागरिकले गाउँ घरमै लाभान्वित हुने अवसर पाउनेछन् ।’

आर्थिक अभावका कारण शहर बजारका सुविधा सम्पन्न अस्पताल पुगेर आँखाको उपचार गर्न नसकेका वबरामीहरुलाई राहत भएको श्रीकृष्ण भैरव आँखा उपचार केन्द्र गलकोट मल्मका व्यवस्थापन समिति अध्यक्ष लोकबहादुर थापाले बताउनुभयो । यो कार्यक्रमलाई आगामी दिनमा समेत नियमित कार्यक्रमको रुपमा अगाड बढाइने अध्यक्ष थापाले बताउनुभयो । ग्रामिण क्षेत्रमा रहेर आर्थिक अभावको कारण काठमाण्डौ, पोखरा, बुटवल, भैरहवा, चितवन लगायतका शहरहरुमा गएर उपचार गर्न नसक्ने नागरिकहरुलाई मध्यनजर गरेर यो कार्यक्रम सञ्चालन गरिएको श्रीकृष्ण भैरव आँखा उपचार केन्द्र व्यवस्थापन समितीका उपाध्यक्ष बसन्त क्षेत्रीको भनाई छ । १ वर्ष पहिले श्री कृष्ण नेत्रालय भैरहवाको शाखाको रुपमा गलकोटमा आखा उपचार केन्द्र स्थापना गरिएको थियो ।

आखा उपचार केन्द्र सञ्चालनको लागि स्थानिय सरकार, विभिन्न क्लवहरु, सामाजिक संघसंस्थाहरु, महिला समुह सहित देश विदेशबाट सहयोग प्राप्त हुँदै आएको गलकोट नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताउनु भयो । आँखा उपचार केन्द्रलाई आवश्यक पर्ने विभिन्न उपकरणहरु खरिद तथा व्यवस्थापनको लागि सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिरहेको शाखाका सचिव दिनेश थापाले जानकारी दिनुभयो । जापानमा संकलित उक्त रकमलाई केहि दिनमा नेपाल पठाउने तयारी भइरहेको उक्त संस्थाका जापान शाखा अध्यक्ष दिल बहादुर थापा रामुले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर