अखिल (क्रान्तिकारी)को सम्मेलनमा नाराबाजी, केन्द्रीय कमिटी घोषणा हुन सकेन — OSNepal

अखिल (क्रान्तिकारी)को सम्मेलनमा नाराबाजी, केन्द्रीय कमिटी घोषणा हुन सकेन

LC (KTM) October 04, 2021 0

काठमाडौं, १८ असोज । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको काठमाडौंमा भएको २२औँ राष्ट्रिय सम्मेलनले अध्यक्ष मात्र चुन्न सकेको छ ।

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा पदाधिकारी र केन्द्रीय कमिटीको नाम घोषणा गर्ने तयारी गरिए पनि विधान संशोधनका सन्दर्भमा प्रतिनिधिले नाराबाजी गरेपछि नाम घोषणा हुन नसकेको हो ।

विधान संशोधन प्रस्तावमाथि अध्यक्षमण्डलले पदाधिकारी र केन्द्रीय सदस्य संख्या थप गर्ने निर्णय सुनाउन लाग्दा प्रतिनिधिले नाराबाजी गरेका थिए । निरन्तर नाराबाजीका कारण अध्यक्ष पञ्चा सिंहको नाम मात्र घोषणा गर्दै सम्मेलन सकिएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलमा क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाई बनाउने निर्णय गरिएको थियो । महासचिवमा दीपेश पुनको नाममा सहमति जुटेको छ ।

अध्यक्षमण्डलले हाल कायम रहेको पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाएर केन्द्रीय कमिटीको नाम घोषणा गर्ने तयारी गरे पनि बन्द सत्रमा विधान संशोधनको प्रस्तावलाई अस्वीकृत गरेको क्रान्तिकारीका उपाध्यक्ष विजय गौतमले जानकारी दिए । अहिले २५ पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरिएको थियो ।

‘हामीले अहिले रहेका पदाधिकारी र केन्द्रीय कमिटी संख्या बढाउने प्रस्ताव गरेका थियौँ’, उनले भने, ‘तर, हलले विधान संशोधन अस्वीकृत गर्‍यो अनि पदाधिकारी र केन्द्रीय कमिटी घोषणा हुन सकेन ।’

उपाध्यक्ष गौतमले विद्यार्थी इन्चार्ज हितमान शाक्य र क्रान्तिकारीको पूर्वकार्यालय समूहले अहिले देखिएको विवाद समाधान गरेर चाँडै नै पदाधिकारी र केन्द्रीय सदस्यको नाम घोषणा गर्ने बताएका छन् ।

यही १४ असोजदेखि काठमाडौंमा क्रान्तिकारीको २२औँ राष्ट्रिय सम्मेलन सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर