डा. मुकेश चौधरी लगातार ६८ घण्टा बिरामीको उपचारमा — OSNepal

डा. मुकेश चौधरी लगातार ६८ घण्टा बिरामीको उपचारमा

LC (KTM) October 06, 2021 0

कपिलवस्तु, २० असोज – शिवराज अस्पताल बहादुरगंजका डा. मुकेश चौधरी आइतबार साँझ ६ बजे अस्पताल छिरेका थिए । अस्पतालको आकस्मिक कक्षमा पाँच जना झाडा-बान्ताका बिरामी आएपछि उनी जाँच गर्न अस्पताल छिरेका थिए ।

उपचार गर्दागर्दै बिरामीको संख्या २१ जना पुगेको थियो । राति १० बजेसम्म झाडा-बान्ताका बिरामीले अस्पताल भरिए । शिवराज अस्पतालमा तीन जना चिकित्सकको दरबन्दी रहेको छ तर नियुक्त भएका चौधरी एक्ला चिकित्सक हुन् ।

आइतबार साँझ अस्पताल पुगेका डा. चौधरी टिमसँगै उपचारमा खटिएका थिए । प्रकोप फैलिएपछि उनी बुधवार दिउँसो २ बजेसम्म नसुती उपचारमा खटिए । ‘अब निद्राले आँखा बन्द हुन लागेको छ । निरन्तर काम गर्दा ढाड पनि दुखेको छ । आइतबार साँझदेखि करिब ३०० बिरामी जाँच गरेको रहेछु । अस्पतालमा आएकामध्ये कसैको पनि मृत्यु भएको छैन । यसमा खुसी छु’, डा. चौधरीले बताए ।

३० वर्षीय चौधरी कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका- ८ मधुनगरका स्थानीय बासिन्दा हुन् । हाल अस्पतालमा उनीसहित ५६ जनाभन्दा बढी स्वास्थ्यकर्मी उपचारमा खटिएका छन् । उपचारमा खटिनेमध्ये छ जना चिकित्सक, २० जना पारामेडिसिन, ३० जना नर्स र हेल्थ असिस्टेन्ट रहेका छन् । थप भएकामध्ये चार जना चिकित्सक लुम्बिनी प्रादेशिक अस्पताल र दुई जना कपिलवस्तु अस्पताल तौलिहवाबाट खटिएका छन् ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका वडा ७, ८ र ९ मा झाडा-बान्ता फैलिएपछि स्थानीय सरकार र प्रदेश सरकार स्थिति नियन्त्रणको प्रयासमा रहेका छन् । अस्पतालको जनशक्ति र क्षमताले थेग्न नसक्ने भएपछि समुदायमा पुग्ने तयारी सुरु भएको छ ।

शिवराज अस्पतालमा मात्र ३०० जनाभन्दा धेरैले उपचार गराएका छन् । तीमध्ये जटिल अवस्थामा रहेका २५ जनालाई तौलिहवा र बुटवल थप उपचारका लागि पठाइएको छ । अझै पनि अस्पतालमा १४ जना जटिल प्रकृतिका बिरामीको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर