बैंक लुटपाटको प्रयास गर्ने तीनजना पक्राउ,गोली लागी घाइते भएका गार्डको उपचार हुँदै — OSNepal

बैंक लुटपाटको प्रयास गर्ने तीनजना पक्राउ,गोली लागी घाइते भएका गार्डको उपचार हुँदै

LC (KTM) October 12, 2021 0

मोरङ- मोरङको धनपालथान गाउँपालिकाको कर्सियामा बैंक लुट्ने प्रयास गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।सिटिजन्स बैंकको कर्सिया शाखामा सोमबार दिउँसो रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्ने क्रममा लुटेरा समूहले गोली चलाई फरार रहेकामा तीनजनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिनुभयो । गोली लागी घाइते भएका गार्डको अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सार्वजनिक जग्गा अतिक्रमण नगर्न गृह मन्त्रालयको आग्रह-सरकारले कानूनी विधि र प्रक्रियाभन्दा बाहिर सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्न प्रयास गर्ने जो कोहीलाई कानूनबमोजिम कारबाही हुने स्पष्ट पारेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्तिमार्फत कसैको बहकाउमा परी त्यस्ता गैरकानूनी कार्यमा संलग्न नहुन सबैलाई अनुरोध गरेको छ ।मन्त्रालयका सहायक प्रवक्ता दिलकुमार तामाङले जारी गर्नुभएको विज्ञप्तिअनुसार नेपालको संविधान र कानूनमा रहेको व्यवस्थाअनुसार सरकारले गत भदौ २९ गते नै राष्ट्रिय भूमि आयोग गठन गरी कामकाजसमेत सुरु भइसकेको छ ।

यसअघि गठन भएको भूमिसम्बन्धी समस्या समाधान आयोगले स्थानीय तहमार्फत गरेको भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने उद्देश्यले काम भइरहेको मन्त्रालयले उल्लेख गरेको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न विशिष्ट कानूनी व्यवस्था गरी प्रक्रिया अगाडि बढाइएको र कोही छुटेको भए सम्बन्धित स्थानीय तहमा अझै नाम दर्ता गर्न सकिने व्यवस्था रहेको विज्ञप्तिमा भनिएको छ ।

नेपालको संविधानको मौलिक हकमा रहेको आवासको हक, भूमिहीन दलितको हक र राज्यको नीतिमा उल्लिखित भूमिहीन सुकुम्बासीको पहिचान गरी बसोबास र जीविकोपार्जनका लागि कृषियोग्य जमिन व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।आइतबार रुपन्देही जिल्लाको मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै गृह मनत्रालयले सो घटनामा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर