कोरोना कहरको सबैभन्दा बढी मारमा गर्भवती र सुत्केरी,नियमित गर्भ परीक्षण गराउन नपाउँदा मानसिक समस्यामा — OSNepal

कोरोना कहरको सबैभन्दा बढी मारमा गर्भवती र सुत्केरी,नियमित गर्भ परीक्षण गराउन नपाउँदा मानसिक समस्यामा

LC (KTM) May 23, 2021 0

ओखलढुंगा, ९ जेठ- जिल्लामा कोरोेना कहरको सबैभन्दा बढी मारमा गर्भवती र सुत्केरी परेका छन् । विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि अहिले देशका केही बाहेक सबै जिल्लामा निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण यो समयमा धेरैलाई समस्या छ, त्यसमा पनि गर्भवती तथा सुत्केरी महिलाहरु भने सबैभन्दा बढी समस्यामा परेका हुन् ।गर्भवतीलाई नियमित गर्भ परीक्षण गराउन नपाउँदा र सुत्केरीलाई घरैमा प्रसूती गराउँदा हुने प्रसव पीडा र आवश्यक स्याहार प्राप्त हुन नसक्दा उनीहरु शारीरिक मात्रै होइन मानसिक समस्यामा समेत परेका छन् ।

ओखलढुंगाको मानेभञ्ज्याङ्ग गाउँपालिका– १ मोलीकी भगवती थापा मगरलाई कोरोनाको सङ्क्रमण बढेसँगै यो सङ्क्रमण गाउँघरसम्मै फैलिने चिन्ता त छँदैछ । त्यो भन्दा पनि ठूलो चिन्ता त निषेधाज्ञाको प्रभावले गर्दा प्रसूतिका लागि स्वास्थ्य संस्थासम्म जान सहजै सवारी साधन नपाउने तथा स्वास्थ्य संस्थामा सहज सेवा पाइँदैन कि भन्नेमा छ । स्वास्थ्यकर्मीले उहाँको प्रसूति हुने अन्तिम मिति यहि जेठ २२ गतेको दिएका छन् । ‘‘अब पोषिलो खाने कुरा, फलफूल किन्न बाहिर जान पनि समस्या छ । घरमै भएको खानेकुरालाई मिलाएर खाने गरेको छु ।’’ उहाँले भन्नुभयो, ‘‘पछि स्वास्थ्य संस्थासम्म जाने बेलामा समयमा यातायात सहजै पाए त हुन्थ्यो । फेरि कोरोनाको डरले स्वास्थ्य संस्थामा पनि राम्रो सेवा पाइदैन कि भन्ने लाग्छ ।’’ उहाँको जस्तो समस्या जिल्लाका सबैजसो गर्भवती र सुत्केरी महिलाहरुमा छ ।

स्वास्थ्यकर्मीले मोलङ्ग गाउँपालिकाको राँगादिप कि याङदु शेर्पालाई प्रसूति हुने मिति जेठ १९ गतेलाई दिएका छन् । निषेधाज्ञाको पालना गरेर बस्नुभएकी उहाँ गाउँघरमा पाइने सागसब्जीको सेवनलाई बढाएर पौष्टिक आहारको मात्रा पु¥याउने प्रयत्न गरिरहनुभएको छ । पहिलो सन्तान सामुदायिक अस्पताल ओखलढुंगामा जन्माएकी उहाँलाई दोस्रो सन्तान पनि अस्पतालमै जन्माउन मन छ । कोरोनाको कहर र निषेद्याज्ञाका कारण समयमा अस्पताल पुग्न नसकिने हो वा अस्पतालमा झन जोखिम मोल्नुपर्ने हो कि भन्ने उहाँलाई लागिरहेको छ । ‘‘पहिलो नानी अस्पतालमा जन्माएकोले सजिलो भयो, सुरक्षित पनि भयो । यो पनि अस्पतालमै जन्माउने चाहाना छ ।’’ उहाँले भन्नुभयो, ‘‘तर अस्पतालमा कोरोनाका बिरामी धेरै हुने भएकाले झन सङ्क्रमणले छुन्छ कि भन्ने डर पनि छ । फेरि अहिले त गाडीहरु चल्न दिएको छैन कसरी अस्पताल जानु ?’’ जिल्लामा एम्बुलेन्स अभाव भएकाले भाडाका सवारी चल्न नपाउँदा बिरामीलाई अस्पताल जान समस्या छ ।

जिल्लाको लिखु गाउँपालिका– १ की गर्भवती सिर्जना बोगटीलाई पनि निषेधाज्ञाले प्रभाव पारेको छ । उहाँलाई स्वास्थ्यकर्मीले असारको पहिलो साता प्रसूति हुने समय दिएका छन् । शारीरिक रुपमा स्वस्थ रहेपनि मानसिक रुपमा कोरोेनाको हल्लाले तनाव थपेको उहाँको भनाई छ । कोरोनाको जोखिममा गर्भवती र सुत्केरी रहने भन्ने सुन्नुभएकी उहाँले गर्भजाँच गर्न जान समेत जान छाड्नुभएको छ । ‘‘गर्भवती र सुस्केरी महिलाहरुलाई कोरोनाको छिटो प्रभाव पार्छ भन्छन् । सकेसम्म त घरमै बसेर सतर्कता अपनाएको छु ।’’ उहाँले भन्नुभयो, ‘‘स्वास्थ्य जाँच गराउन जान पनि डर लाग्छ । गाउँमा यातायातको सुविधा छैन प्रसूति हुने समयमा स्वास्थ्य संस्था जान पनि स्टेचरमा लैजानुपर्छ यातायातको सुविधा भए त कति राम्रो हुन्थ्यो ।’’ स्वास्थ्य संस्थाहरुको तथ्याङ्कअनुसार गर्भजाँच गराउन आउनेको सङ्ख्या पनि कोरोना कहरपछि घटेको छ ।

खिजीदेम्बा गाउँपालिका– ८ रावादोलुकी अस्मिता सुनुवारलाई पनि कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिइरहेका बेला अब के होला भन्ने चिन्ता छ । अस्पताल तत्काल जानुपर्ने भयो भने आफूहरुको ठाउँबाट भनेको समय यातायातको सुविधा नपाइने उहाँले सुनाउनुभयो । स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवा लिन जानपनि डराउनु परेको उहाँको भनाई छ । ‘‘स्वास्थ्य संस्था जान डराउनु परेपछि हाम्रो अरु के विकल्प हुन्छ र ? कि घरैमा जोखिम लिनुुपर्छ कि जे होला भनेर स्वास्थ्य संस्था पुग्नुपर्छ । त्यो पनि अरुलाई स्टेचरमा बोकाएर जानुपर्ने अवस्था आयो भने झन् कोरोनाको जोखिम हुनसक्छ ।’’ जिल्लाका अधिकांश ग्रामीण सडकहरु वर्षाको समयमा हिलाम्य हुने भएकाले सवारी आवागमन बन्द हुन थालिसकेको छ ।

समयमा गर्भजाँच गर्न नपाउनु, किनमेल गर्न नपाउँदा पोषिलो खाना खान नपाउनुलगायतका समस्या त छँदैछन् । कोरोनाको सङ्क्रमण बढेसँगै जिल्लाका गर्भवती तथा सुत्केरीहरुले सुरक्षित मातृत्व सेवा समेत सहज रुपमा लिन सकेका छैनन् । स्वास्थ्य संस्था सुरक्षित छ भन्ने पूर्ण विश्वास नहुँदा नियमित गर्नुपर्ने गर्भ जाँच रोकिएको छ । घर बाहिर निस्कन डराउँदा महिलाहरु नियमित परीक्षण तथा सेवाका लागि नजानु तथा यो बेला स्वास्थ्य संस्था सुरक्षित छ भन्ने पूर्ण विश्वास नहुँदा पनि थुप्रै गर्भवती तथा सुत्केरीहरुले सेवा लिन नआउने गरेको स्वास्थ्य चौकी कञ्टुजेकी सिनियर अनमी अस्मिता श्रेष्ठ बताउनुहुन्छ । गर्भवतीले धेरै चिन्ता लिँदा गर्भमा भएको बच्चालाई समेत असर पर्ने भन्दै यो समयमा गर्भवती तथा सुत्केरी महिलाको स्याहारसुसारमा परिवारका सदस्यहरुले विशेष ख्याल गर्नुपर्ने उहाँको भनाई छ ।

घरैमा सुत्केरी भएका महिलालाई पनि स्वास्थ्यमा समस्या देखिन थालेको छ । स्वास्थ्य संस्था जान डर लागेर घरैमा सुत्केरी गराउँदा उच्च रक्तश्राप भएपछि झन समस्यामा परेको खिजीदेम्बाकी एक सुत्केरी महिला स्वास्थ्य संस्थामा भर्ना हुनुपरेको छ । ‘‘पहिला स्वास्थ्य चौकीमा जान डराएर घरैमा सुत्केरी गराइयो पछि स्वास्थ्यकर्मीकै सहारा चाहिने भएर श्रीमतीलाई स्वास्थ्य चौकीमा लगियो ।’’ नाम नबताउने सर्तमा सुत्केरीका श्रीमान्ले भन्नुभयो, ‘‘बच्चा जन्माउने समस्या त थियो नै घरैमा हुँदा झन् अरु पनि समस्या थपिए । भन्न पनि लाज हुन्छ, बुझेरै पनि जोखिम लिइयो अहिले झन् समस्या बढ्यो ।’’ स्वास्थ्यकर्मीको निगरानी बेगर प्रसूति गराउँदा मातृशिशु मृत्युदर बढ्ने जोखिम छ ।

जिल्लाका सबै ७५ वटै वडामा स्वास्थ्य चौकी र स्वास्थ्यका इकाइहरु छन् । जिल्लाका अधिकांश स्वास्थ्य चौकीमा प्रसूति गृह सञ्चालनमा छन् । स्थानीय तहमा स्वास्थ्य शाखा सक्रिय छन् । तर स्वास्थ्यकर्मीहरु कोरोना विरुद्धको अभियानमा केन्द्रित भएकाले गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य सवाल पेचिलो बन्दै गएको छ । बाह्र वटा वडा रहेको सिद्धिचरण नगरपालिकामा ११ वटा स्वास्थ्य चौकी छन् । नगरपालिकाभित्र रहेका स्वास्थ्य चौकीहरु मध्ये छ वटा स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गरी सञ्चालनमा रहेकोले पनि स्वास्थ्य संस्थामा प्रसूति गराउन सहज हुने सिद्धिचरण नगरपालिकाका जनस्वास्थ्य अधिकृत पवन कुमार लामा बताउनुहुन्छ । आफुहरु सङ्क्रमणको बेला महिला र बालबालिकाको क्षेत्रमा पनि सम्वेदनशील भएर सेवा प्रवाहमा जुटेको उहाँको भनाई छ । स्वास्थ्य संस्था सुरक्षित हुने भएकाले ढुक्कले सेवा लिन र घरैमा जोखिम नलिन उहाँको आग्रह छ । ‘‘गर्भवती र सुत्केरी अवस्था उसैपनि जटिल मानिन्छ । कोरोनाको कहरका बेला उहाँहरु बढी सचेत र सुरक्षित त हुनुपर्छ तर स्वास्थ्यकर्मीसँग डराएर घरैमा जोखिम उठाउनु हुँदैन’’ लामाले भन्नुभयो, ‘‘स्वास्थ्य संस्था सङ्क्रमण मुक्त बनाइएको हुन्छ । स्वास्थ्यकर्मीहरुले स्वास्थ्यका मापदण्ड अपनाएर सेवा दिन्छन् ।

त्यसैले नियमित गर्भजाँच र सुरक्षित प्रसुति सेवा लिन नछाड्नुहोला ।’’ नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा आमा र शिशुको स्वास्थ्यमा खतरा नहुने उहाँको सुझाव छ । कोरोनाको कहर र निषेधाज्ञाको प्रभाव यतिबेला नेपालको मात्र नभएर विश्वभरको साझा समस्या हो । मानव स्वास्थ्यमा गर्भवती तथा सुत्केरी अवस्था विशेष मानिन्छ । त्यो अवस्थामा शारीरिक तथा मानसिक रुपमा स्वस्थ हुनुपर्छ । स्वास्थ्यकर्मीको नियमित निगरानीमा रहेर गर्भजाँच गराउन नपाउँदा पेटमा भएको शिशुमा कुनै समस्या हुने हो कि भन्ने गर्भवतीहरुमा पिरलो पनि छ ।

सुत्केरी गराउन कसरी स्वास्थ्य संस्थामा लैजाने भन्ने समस्या एकातिर छ भने अर्कातिर गर्भमा रहेको बच्चालाई असर पर्ने हो कि भन्ने चिन्ता छ । चिकित्सकका अनुसार यो समयमा खानपान, सरसफाईसँगै आफ्नो बच्चाको सुरक्षामा ध्यान दिनुपर्छ । यो समयमा फुर्सदमा रहेका परिवारका सदस्यहरुले गर्भवती तथा सुत्केरी र नवजात शिशुको स्याहारसुसारमा विशेष ख्याल गर्नु आवश्यक छ । स्वास्थ्यकर्मीहरुले पनि आफू कार्यरत क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिलाको सहजताको लागि नियमित गर्भ जाँच लगायतका कुराहरुमा थप सहयोग गर्नुपर्ने आवश्यता बढेको छ । त्यस्तै स्थानीय सरकारहरुले पनि यी समस्यामा विशेष ध्यान दिनु अति जरुरी देखिन्छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर