बागलुङ कालिका मन्दिरमा भक्तजननको घुइँचो , परेवाको बलि दिन निषेध — OSNepal

बागलुङ कालिका मन्दिरमा भक्तजननको घुइँचो , परेवाको बलि दिन निषेध

LC (KTM) October 12, 2021 0

गलकोट, २६ असोज – दसैँ नजिकिएसँगै गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका मन्दिरमा भक्तजननको घुइँचो लागेको छ । बागलुङको कालिका मन्दिर परिसरको पार्किङस्थलमा सवारी राख्ने ठाउँ छैन भने पूजा सामग्री खरिद गर्ने पसलमा भीडभाड छ ।

कोरोनाका कारण चैतेदसैँपछि बल्ल खुलेको कालिका मन्दिरमा काठमाडौँ, चितवन, भैरहवा, पोखरालगायतका स्थानबाट कालिका मन्दिर दर्शका लागि आएका हुन् । कालिका मन्दिरमा दसँैको सप्तमीअर्थात् फूलपातीको दिनदेखि दर्शनार्थीको भीड लाग्न थालेको छ ।

लामो समयपछि खुलेको कालिका मन्दिरमा दर्शन गर्नेको सङ्ख्या अधिक रहेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । कोरोना कहरको समयमा लामो समय बन्द हुँदा कालिका मन्दिरमा बलिसमेत चढ्न पाएको थिएन । अहिले बलि चढाउने, भाकल गर्ने तथा मन्दिर परिसरमा पूजापाठ लगाउनेको समेत चाप बढेको खड्काले बताउनुभयो । मन्दिर क्षेत्रमा भीडभाड भएसँगै जिल्ला प्रहरी कार्यालयले सुरक्षा सतर्कतासमेत बढाएको छ । प्रत्येक वर्षको दसैँमा कालिका दर्शन गर्न आउने गरेको पोखरा निवासी निर्मल अधिकारीले बताउनुभयो ।

बडादसैँ र चैतेदसैँमा कालिका मन्दिरमा बढी मात्रामा दर्शनार्थीको भीड लाग्ने गरेको छ । मन्दिरमा चैत्राष्टमी र दसैँमा विशेष पूजाआजा हुने भएकाले यही समयमा धेरै भक्तजनको भीड लाग्ने गरेको छ । दसैँको समयमा एक पटक कालिका मन्दिर दर्शन गर्नुपर्ने बागलुङवासीको सोच छ । लामो समयपछि खुलेको मन्दिरमा बोका, राँगो, कुखुरालगायतको बलि चढाइन्छ भने शान्तिको प्रतिक परेवा उडाउन सकिनेछ । परेवाको बलि दिन मन्दिरमा निषेध गरिएको छ । (रासस) :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर