काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेको प्रमुख भूमिका रहेको चलचित्र ‘पशुपति प्रसाद’ को सिक्वेल बन्ने भएको छ । निर्देशक दीपेन्द्र के खनालले नै यस चलचित्रको सिक्वेल बनाउने तयारीमा जुटेका छन् । सिक्वेल निर्माणका विषयमा उनले अभिनेता लामिछानेसँग छलफल गरेका छन् । उनीहरु चलचित्रलाई कसरी सिक्वेलका रुपमा प्रस्तुत गर्न सकिन्छ भनेर निरन्तर छलफलमा जुटिरहेका छन् ।
निर्देशक खनालले केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको सिक्वेल बनाउनेबारे जानकारी दिएका थिए । उनले सिक्वेल बनाउने काम निकै चुनौतीपूर्ण रहेको बताएका थिए । उनले भनेका थिए, ‘म जहाँ जान्छु ‘पशुपति प्रसाद’ को सिक्वेलको कुरा उठ्ने गरेको छ । मलाई पनि बनाउन मन छ । तर आँट नै आइरहेको छैन । कोरोनाले चुनौतीपूर्ण अवस्थामा फिल्म क्षेत्र रहेको बेला ‘पशुपति प्रसाद’ फेरि बनाउनुपर्छ कि भन्ने चाहिँ लागेको छ ।सौर्य दैनिकमा खबर छ । ’ निर्देशक खनालका अनुसार ‘पशुपति प्रसाद’ दर्शक तथा समीक्षकले रुचाएको र चलचित्रको छाप दर्शकको मनमा गहिरो गरी परेकाले सिरिज बनाउन लागिएको हो ।
पछिल्लो समय निर्देशक खनालले निर्माण गरेको ‘चिसो मान्छे’ आगामी ३० बैशाखबाट प्रदर्शनमा आउने तयारीमा छ । ‘पशुपति प्रसाद’ मा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री वर्षा सिवाकोटी, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे, सजन राई, विभु विप्सन लगायतका कलाकारको प्रमुख भूमिका रहेको थियो ।