काठमाडौं । नेपाली अभिनेत्री स्वस्तिमा खड्काले नृत्य गरेको दक्षिण भारतीय चलचित्र ‘थिरिमाली’ को गीत ‘रंग भिरंगी’ सार्वजनिक भएको छ । स्वस्तिमाको आइटम नृत्य रहेको गीतको भिडियो शनिबार साँझ सार्वजनिक गरिएको हो । गायिका सुनिधि चौहानको स्वर भरेको उक्त गीतमा संगीत विजिवाल र शब्द तनिश्क नब्बरको रहेको छ । गीतको भिडियोमा रेडलाइट एरिया देखाइएको छ । नेपालमा रेडलाइट क्षेत्र देखाइएको गीतमा भारतबाट आएका चलचित्रका पात्रहरु यो क्षेत्रमा गएको प्रसंग गीतमा प्रस्तुत गरिएको छ ।
चलचित्रको ट्रेलर र स्वस्तिमाको नृत्य रहेको गीत सार्वजनिक भए पनि उनको भूमिकाबारे केही पनि सार्वजनिक गरिएको छैन । अभिनेत्री स्वस्तिमाको यो गीतमा आइटम नृत्यमात्रै छ कि अन्य पनि भूमिका छ भन्ने अहिलेसम्म खुलाइएको छैन ।सौर्य दैनिकमा खबर छ । जेभियर एलेक्सले लेखेको यो चलचित्रको निर्देशन राजीव सेट्टीले गरेका छन् । चलचित्रमा अभिनेत्री स्वस्तिमासँगै नेपाली कलाकार माओत्से गुरुङ, उमेश लामा लगायतको अभिनय छ । यीसँगै चलचित्रमा दक्षिण भारतीय अभिनेता विविन जर्ज, धर्माजन बोल्गट्टी, जोन्नी एन्टोनी, सलिम कुमार, हरिश कनारन लगायतको अभिनय छ ।