बिस्का जात्राको हात नभएको लिंगो ढालियो — OSNepal

बिस्का जात्राको हात नभएको लिंगो ढालियो

LC (KTM) April 18, 2022 0

भक्तपुर, ५ वैशाख-भक्तपुरको बिस्का जात्राको क्रममा सोमबार हात नभएको ल्योसिंद्य (लिंगो) ढालिएको छ । प्रत्येक वर्ष पोटरी स्क्वायरमा जात्राको पहिलो दिन २७ चैत विहान उठाइने ल्योसिंद्य जात्राको अन्तिम दिन ५ वैशाख दिउँंसो ढाल्ने परम्परा छ ।स्थानीय टोलवासीहरू मिलेर ल्योसिंद्य ढालिएको हो । हात नभएको र तुलनात्मक रुपमा सानो हुने हुँदा यो ल्योसिंद्य ढाल्दा खतरा कम हुन्छ । बिस्का जात्राकै क्रममा भक्तपुरकै ल्योसिंद्य उठाउँंदा र ढाल्दा भने खतरा हुन्छ । ५५ हात लामो तथा हात भएका कारण उक्त ल्योसिंद्य उठाउन र ढाल्न खतरा हुने भएको हो । यही कारण उक्त ल्योसिंद्य उठाउँदा र ढाल्दा जात्रा आसपास पाँंच सात वटा एम्बुलेन्सहरू तयारी अवस्थामा रहने गर्दछ ।

भक्तपुरको बिस्का जात्रा आठ रात नौ दिन चल्ने गर्दछ । भैरब र भद्रकालीको रथ तान्नु, ल्योसिंद्य उठाउनु र ढाल्नु, जिब्राे छेड्ने जात्रा, सिन्दूर जात्रा यहाँंको जात्राका मुख्य आकर्षणहरू हुन् । यी बाहेक पनि यहाँ योबीचमा धेरै स-साना जात्राहरू हुने गर्छन ।

इतिहास एवं सँस्कृतिविद् डा. पुरुषोतमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा पूर्वमध्यकालतिर तीन सय वर्षभन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो । तत्कालिन भक्तपुर राज्य समग्र नेपालको राजधानी नगरको रूपमा रहेको बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाइने उनले बताए । तर, उपत्यकाको राजनैतिक विखण्डनलगायत १८२६ सालमा मल्लकालिन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफनो केन्द्रीय राजनैतिक–प्रशासनिक महत्व गुमाउँंदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुग्यो । तर, अहिले फेरि यो जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायतबाट सयौं मानिस आउने गर्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर