इँटा उद्योगमा कार्यरत मजदुर बालबालिकालाई अनौपचारिक कक्षा सुरु — OSNepal

इँटा उद्योगमा कार्यरत मजदुर बालबालिकालाई अनौपचारिक कक्षा सुरु

LC (KTM) April 19, 2022 0

चन्द्रौटा- कपिलवस्तुको शिवराज नगरपालिकाभित्र रहेका इँटा उद्योगमा कार्यरत ४० बाल श्रमिकलाई अनौपचारिक कक्षा सुरु गरिएको छ । नगरमा रहेका इँटा उद्योगमा कार्यरत बाल मजुदरलाई लक्ष्य गरी तीनमहिने कक्षा सञ्चालन गरिएको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो ।सोमबार अनौपचारिक कक्षाको उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले बालबालिकाको अधिकारलाई कसैले रोक्न नपाउने बताउनुभयो । उहाँले जुनसुकै देशका बालबालिकाले पढ्न पाउने अधिकार रहेकाले नगरले विभिन्न सङ्घसंस्थासँग सहकार्य गरी कक्षा सञ्चालन गरेको बताउनुभयो ।

उहाँका अनुसार इँटा उद्योगका मजदुरका बालबालिका श्रममा लागेर शिक्षणतर्फ ध्यान नदिएकाले यसमा सजग हुनुपर्छ । “मजदुर भर्ना गर्दा नै बालबालिकाका बारेमा बुझेर राख्नुहोला”, प्रुमुख अधिकारीले भन्नुभयो, “बालबालिकालाई काममा लगाएको पाइएमा नगरले उद्योग नवीकरण गर्दैन, त्यसैले सजग रहनुहोला ।”

बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउनका लागि अनौपचारिक शिक्षा सुरु गरिएको शिवराज नगरपालिका शिक्षा शाखाका अधिकृत पूर्ण विश्वकर्माले बताउनुभयो । सिजनअनुसार कामदार आउने भएकाले सुरुको चरणमा तीन महिनाका लागि कक्षा सुरु गरिएको उहाँले बताउनुभयो ।

पहिलो चरणमा तीनवटा मात्र इँटा उद्योगमा कार्यरत बालबालिकालाई कक्षा सञ्चालन गरिएको दलित मानवअधिकार निगरानी समितिका अध्यक्ष मीना परियारले बताउनुभयो । जनता इँटा उद्योग, स्टार इँटा उद्योग र कपिलवस्तु इँटा उद्योगमा कार्यरत ४० जनालाई लक्ष्य गरेर कक्षा सञ्चालन गरेको उहाँको भनाइ छ ।

कक्षा सञ्चालनमा सहजकर्ताका रूपमा शिवराज नगरपालिकाले कुस्लवती छिपिलाई छनोट गरेको छ । छिपिले दैनिक बिहान ११ देखि १ बजेसम्म अध्यापन गराउनेछिन् । उद्घाटन कार्यक्रममा बालबालिकालाई आवश्यक शैक्षिक सामग्री दलित मानवअधिकार निगरानी समितिले व्यवस्थापन गरेको छ । कपि, कलम, झोलालगायतका सामग्री उपलब्ध गराएको अध्यक्ष परियारले बताउनुभयो । दलित मानवअधिकार निगरानी समितिले सङ्कलन गरेको तथ्याङ्कानुसार शिवराज नगरमा रहेका १२ इँटा उद्योगमा ६९ बालबालिका कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर