भरतपुरमा निर्वाचन जित्न कुनै अप्ठ्यारो छैन : प्रचण्ड — OSNepal

भरतपुरमा निर्वाचन जित्न कुनै अप्ठ्यारो छैन : प्रचण्ड

LC (KTM) May 05, 2022 0

चितवन, २२ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा निर्वाचन जित्न कुनै अप्ठ्यारो नभएको दाबी गरेका छन् । पाँच दलीय गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा सहभागी हुन चितवन आएका प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग उक्त कुरा बताएका हुन् ।

कांग्रेसको असन्तुष्ट पक्षबाट भरतपुरको मेयरमा उमेदवारी दिएका जगन्नाथ पौडेललाई उमेदवारी फिर्ता गराउन अब धेरै बल नगर्ने उनले संकेत गरे । ‘मलाई निर्वाचन जित्न कुनै अप्ठ्यारो हुन्छ झैँ लागेको छैन । धेरै कारणले निर्वाचनको परिणाम गठबन्धनको पक्षमा हुन्छ’, उनले भने ।

गठबन्धन आफ्नो लाइनमा अघि बढिसकेको भन्दै उनले उमेदवारी दिने स्वतन्त्रता कोहि पनि नेपालीलाई रहेको बताए । स्वतन्त्र उमेदवारको विषयमा धेरै चर्चा गर्नुभन्दा गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढ्नु उचित हुने उनले बताए ।

भरतपुरमा सत्ता गठबन्धनको तर्फबाट प्रचण्डकी छोरी रेणु दाहाल मेयरको लागि चुनावी मैदानमा छिन् । उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारी उमेदवार बनेका छन् ।चुनावी सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर