छाङ्गरु र तिंकरमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री र कर्मचारी पठाइयो — OSNepal

छाङ्गरु र तिंकरमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री र कर्मचारी पठाइयो

LC (KTM) May 09, 2022 0

दार्चुला, २६ वैशाख ।कालापानी नजिकै दार्चुलाको उत्तरी क्षेत्र व्याँसमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरिएको छ ।३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि व्याँस गाउँपालिका-१ छाङ्गरु र तिंकरका मतदान केन्द्रमा सेनाको हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरिएको हो ।

साे क्षेत्रमा नेपाली भूमिबाट जाने बाटो नभएकाले हेलिकप्टरमार्फत निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मी लगिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

सोमबार बिहान सेनाको हेलिकप्टरमार्फत छाङ्गरु र तिंकरका मतदान केन्द्रका लागि मतपत्र, मतदाता परिचयपत्रलगायत निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरुलाई पठाइएको छ ।

७ जना नेपाल प्रहरी र ८ जना निर्वाचन कर्मचारी हेलिकोप्टरमार्फत त्यस क्षेत्र गएका छन् । हिउँदमा सदरमुकाम झरेको सीमा प्रहरी चौकी तिंकरका सुरक्षाकर्मी बन्दोबस्तीमा सामानसहित हेलिकोप्टरमार्फत गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हिक्मत थापाले बताए ।

छाङ्गरुको कैलाशपति आधारभूत विद्यालय केन्द्रमा ३७५ र तिंकरको आधारभूत विद्यालय मोति महिला संघ केन्द्रमा २३१ मतदाता छन् । सो क्षेत्रका बासिन्दा वैशाख तेस्रो सातादेखि सदरमुकामबाट व्याँस उक्लन थालेका छन् । जिल्लामा ८८ हजार २ सय १५ मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर