मतदानका सामग्रीसहित ललितपुरमा खटिए कर्मचारी — OSNepal

मतदानका सामग्रीसहित ललितपुरमा खटिए कर्मचारी

LC (KTM) May 09, 2022 0

ललितपुर, २६ वैशाख- आउँदो ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ललितपुरका विभिन्न पालिकाका मतदानस्थलमा आवश्यक मतदानका सामग्रीसहित कर्मचारी मतदानस्थलमा पठाइएको छ । ललितपुरका विभिन्न पालिकाका मतदानस्थलमा खटिने कर्मचारीलाई मतदान सामग्री बुझाएर कार्यस्थलमा खटाइएको ललितपुरका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीलाई आवश्यक मतपत्र र मतपेटिका तथा सुरक्षासहित मतदान सामग्रीसहित सम्बन्धित पालिकामा पठाइएको उहाँले जानकारी दिनुभयो । महाङ्काल, बागमती र कोन्ज्योसोम गाउँपालिकाका कर्मचारी आवश्यक मतदान सामग्रीसहित मतदानस्थल तर्फ गएको र नजिकै रहेको गोदाबरी, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाको मतदानस्थलमा खटिने कर्मचारीलाई पनि आज र भोलिसम्ममा सबै सामग्रीसहित मतदान केन्द्रमा खटिइसक्ने उहाँले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालय ललितपुरका प्रमुख गोमा धमला घिमिरेले मतदानस्थलमा खटिने कर्मचारी आजै सवारीसाधनको व्यवस्था गर्दै निर्वाचन सामग्री लिएर कार्यस्थलमा गएको बताउनुभयो । उहाँले ५८ प्रकारका मतदान सामग्रीसहितको सुरक्षाकर्मीको टोली मतदानस्थलमा पठाइएको बताउनुभयो ।

भोलि प्रत्येक पालिकामा निर्वाचन अधिकृतसहित सर्वदलीय बैठक राख्ने, तीन दिन अगावै सूचना टाँस गर्नेलगायत आयोगले तोकेको काम गर्न निर्वाचनमा खटिएका कर्मचारी मतदानस्थलमा पुगेर सबै तयारीमा लाग्ने उहाँले बताउनुभयो । ललितपुरमा रहेका कूल १३१ मतदानस्थल र २८८ मतदान केन्द्रमा मतदातालाई सुरक्षित, भयरहित वातावरणमा मतदान गर्न सक्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउँदै निर्वाचनको तयारी पूरा गरेको उहाँले जानकारी दिनुभयो ।

निर्वाचनका लागि ५०० भन्दा बढी मतदाता रहेको मतदानस्थलमा मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई कर्मचारी, एक सहयोगीका दरले कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत शिवाकोटीले जानकारी दिनुभयो । आवश्यकता अनुसार दुईजना कर्मचारी स्थानीयस्तरमै भर्ना गर्न पाइने व्यवस्थासमेत गरिएको छ । कार्यस्थलमा खटिएका कर्मचारीलाई दुई दिनको तालिमसमेत दिएर परिचालन गरिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर