मोटरसाइकलको ठक्करबाट राप्रपाका नेता श्रेष्ठसहित दुई गम्भीर घाइते — OSNepal

मोटरसाइकलको ठक्करबाट राप्रपाका नेता श्रेष्ठसहित दुई गम्भीर घाइते

LC (KTM) June 03, 2022 0

खोटाङ, २० जेठ -मोटरसाइकलको ठक्करबाट खोटाङमा राप्रपाका नेता जीवनकुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् । प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५६ वर्षीय श्रेष्ठ गम्भीर घाइते भएका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र जाँदै गरेको मोटरसाइकलले श्रेष्ठलाई सपिङ कम्प्लेक्स अगाडि सडक छेउमा ठक्कर दिएको थियो । श्रेष्ठ आफ्नो परिवारसहित सपिङ कम्प्लेक्स नजिकै बस्दैआएका छन् ।

स्पिडमा पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा चोट लागेको छ । श्रेष्ठलाई उपचारका लागि दिक्तेलको फेमिली केयर अस्पतालमा लगिएको थियो । फेमिली केयरले रेफर गरेपछि श्रेष्ठलाई हेलिकोप्टरमार्फत न्युरो अस्पताल बाँसबारी लगिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले बताए । उनी राप्रपा खोटाङका निवर्तमान अध्यक्ष हुन् ।

उनी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका उम्मेदवार थिए । राप्रपाका जिल्ला अध्यक्ष ललित राईका अनुसार श्रेष्ठको अवस्था चिन्ताजनक छ ।

मोटरसाइकल दुर्घटनामा सवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी ४८ वर्षीय विष्णुकुमारी राई पनि घाइते भएकी छन् । हेलिकोप्टरबाट श्रेष्ठसँगै काठमाडौं पठाइएकी राईको पनि न्युरो अस्पतालमै उपचार भइरहेको छ । मोटरसाइकल चालक लफ्याङका १७ वर्षीय अभिषेक राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते विष्णुकुमारी र अभिषेक आमाछोरा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर