पोखरा महानगरले बजारीकरणका लागि निःशुल्क कृषि एम्बुलेन्स सञ्चालन गर्ने — OSNepal

पोखरा महानगरले बजारीकरणका लागि निःशुल्क कृषि एम्बुलेन्स सञ्चालन गर्ने

LC (KTM) August 06, 2022 0

पोखरा-पोखरा महानगरपालिकाले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । ग्रामीण क्षेत्रका कृषकको उत्पादन बजारीकरण गर्न निःशुल्क ढुवानी सुविधासहित एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो । फलफूल तरकारी मूल्य शृङ्खला विकास आयोजनासँगको साझेदारीमा एम्बुलेन्स सञ्चालन गर्न लागिएको पोखरा महानगरले जनाएको छ ।

एम्बुलेन्स सेवा सञ्चालनसम्बन्धी सम्झौतामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कृषि तथा पशुपछी विकास मन्त्रालयका सहसचिव प्रकाशकुमार सन्जेल हस्ताक्षर गर्नुभयो । कृषि एम्बुलेन्सले महानगरपालिकाका उत्पादन केन्द्रित वडाहरूबाट कृषि उत्पादनको सङ्कलन केन्द्रमार्फत निःशुल्क ढुवानी गर्नेछ भने उपभोक्ता केन्द्रित वडाहरूमा भने वितरणको काम गर्नेछ ।

ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको तरकारी मुख्य बजार क्षेत्रका उपभोक्तालाई स्वस्थ उपज खुवाउने महानगरको वार्षिक नीति तथा कार्यक्रमअनुसार कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको प्रमुख आचार्र्यले बताउनुभयो । उहाँका अनुसार कृषि एम्बुलेन्समार्फत कृषकलाई आवश्यक पर्ने बीउसमेत वितरण गर्न सहज हुनेछ । कृषि एम्बुलेन्सको सञ्चालनले कृषि उपजमा हुने क्षतिको न्यूनीकरण, उत्पादन क्षेत्रदेखि बजार केन्द्रसम्म सुरक्षित कृषि उपज ढुवानी, समयमा ढुवानी तथा बजारीकरणको अभावका कारण तरकारी बिग्रेर हुने फोहरमा कमी आउने बताइन्छ ।

यसैगरी तरकारीमा हुने चरम बिचौलियापनको अन्त्य, कृषकलाई तरकारी बजारसम्म पु¥याउन हुने तनावको अन्त्य, स्थानीय उत्पादनलाई प्रोत्साहन र उपभोक्ताको घरघरमा ताजा तरकारीको उपलब्धतालगायत फाइदा हुने महानगरपालिकाको कृषि विकास महाशाखाका प्रमुख मनोहर कडरियाले बताउनुभयो । उहाँका अनुसार तालिका बनाएर महानगरका विभिन्न क्षेत्रहरूमा दैनिकजसो सञ्चालन गरिने यस सेवाले साना किसानलाई समेत आफ्नो कृषि उपजको बजारीकरणमा सहयोग पुग्नेछ । एक पटकमा तीन टनभन्दा धेरै तरकारीको ढुवानी गर्न सक्ने क्षमताको सो एम्बुलेन्स सञ्चालनलाई महानगरले थप व्यवस्थित गर्दै लैजाने कडरियाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर