निर्वाचन आयोगले अध्यक्ष प्रचण्डलाई पत्र काट्यो — OSNepal

निर्वाचन आयोगले अध्यक्ष प्रचण्डलाई पत्र काट्यो

LC (KTM) August 12, 2022 0

काठमाडौं २७ साउन । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पत्र काटेको छ । गाउँपालिका अध्यक्ष जित्न १० करोड खर्च गर्ने उमेदवारको सूचना दिन भन्दै प्रचण्डलाई आयोगले पत्र काटेको हो ।

यही साउन ९ गते नरबहादुर कर्मचार्य स्मृति दिवसमा आयोजित कार्यक्रममा प्रचण्डले गाउँपालिका अध्यक्षमा चुनाव जित्नका लागि १० करोड रुपैयाँसम्म खर्च भएको जानकारी दिएपछि आयोगले पत्र काटेको हो ।

अध्यक्षले तीन लाख खर्च गर्न पाउने व्यवस्था रहेको भएपनि प्रचण्डले १० करोड खर्च भएको अभिव्यक्ति दिएपछि साउन १० गते आयोगले प्रचण्डलाई पत्र काटेको हो । १० करोड खर्च गर्ने उमेदवारको सूचना दिए कारबाही गर्ने आयोगले बताएको छ ।

आयोगका कानुन अधिकृत मोहनराज जोशीले काटेको पत्रमा भनिएको छ, “आयोगबाट तोकिएको हदभन्दा बढी खर्च गर्ने तथा निजहरुले गरेको खर्र्चको विवरण आयोगले तोकेको कार्यालय समक्ष नबुझाउने उमेदवारमाथि कारबाही प्रकृया सुरु गरिसकेको अवस्था रहेको हुँदा सञ्चार माध्यमहरुमा प्रकाशित प्रसारित भएको तपाईंको अभिव्यक्ति बमोजिम तपाईंले पाएको सूचना अनुसारको गाउँपालिकाको अध्यक्षमा चुनाव जित्न १० करोड रुपैयाँसम्म खर्च गर्ने उमेदवारबारे सूचनाको साथै आयोगले तोकेको खर्चको हदभन्दा बढी खर्च गर्ने उमेदवार बारेको वस्तुगत सूचना आयोगमा उपलब्ध गराई सहयोग गरिदिन हुन अनुरोध गरिन्छ,”

सो पत्र आयोगले माओवादीको केन्द्रीय कार्यालयमा दिएको थियो । तर कार्यालयले पत्र नबुझेपछि आयोगले हुलाक मार्फत पत्र पठाएको हो । आज साउन २७ गते सम्म पनि जवाफ नआएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर