यु-२० एएफसी एसियन कप छनोट : नेपाल जितविहीन — OSNepal

यु-२० एएफसी एसियन कप छनोट : नेपाल जितविहीन

LC (KTM) September 19, 2022 0

काठमाडौं, ३ असोज:

एएफसी यु-२० एसियन कप छनोटको अन्तिम खेलमा आइतबार बंगलादेशसँग ३-० को नतिजामा पराजित भएसँगै नेपाल समूह ‘बी’मा जितविहीन भएको छ । सुरुआती तीन खेलमा पराजय भोगेको नेपाली टिम अन्तिम खेलमा सान्त्वना जितको अपेक्षासहित मैदानमा उत्रिएको थियो ।

तर, सुरुआती समयमै दश जना र पहिलो हाफमै ९ जनामा सीमित भएपछि नेपालले दक्षिण एसियाली प्रतिद्वन्द्वीविरुद्धको हार टार्न सकेन ।

बहराइनमा भएको छनोट अन्तर्गत नेपाल पहिलो खेलमा भुटानसँग २-० ले पराजित भएको थियो । दोस्रो खेलमा कतारसँग ३–१ को हार बेहोरेको नेपालले बहराइनसँग १० जनामा सीमित हुँदा ६–० को फराकिलो नतिजामा पराजित हुनु परेको थियो ।

आइतबार राति छैटौं मिनेटमा नेपाली रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै बंगलादेशका मोजिबोर जोनीले पहिलो गोल गरेका थिए । त्यसको चार मिनेट नबित्दै बंगलादेशले पियास नोभाको गोलबाट अग्रता दोब्बर पारेको थियो ।

बंगलादेशी खेलाडीलाई कुहिनाले प्रहार गरेपछि २६औं मिनेटमा नेपालका सेन्टर ब्याक अजय चौधरीले रातो कार्डको सामना गर्नु परेको थियो ।

त्यसको ६ मिनेटअघि सन्दीप कार्कीको स्थानमा मैदान प्रवेश गरेका कप्तान आयुष घलान अभद्र व्यबहारका कारण रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिए । आयुषसँग अभद्र व्यबहारमा सामेल भएकै कारण बंगलादेशका अजिजुल हकी पनि दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदानबाट बाहिरिए ।

दोस्रो हाफको सुरुआतदेखि नै बंगलादेशले दबाब बनाएको थियो । बंगलादेशी फरवार्ड नोभाले दायाँतर्फबाट दिएको क्रसलाई साजिद हसनले गोलमा परिणत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर