वाङ्मय शताब्दी पुरुषको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि ललितपुर महानगरपालिकामा — OSNepal

वाङ्मय शताब्दी पुरुषको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि ललितपुर महानगरपालिकामा

LC (KTM) October 16, 2022 0

काठमाडौँ-वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पुल्चोकस्थित ललितपुर महानगरपालिका भवन प्राङ्गणमा राखिएको छ ।पुरातत्वविद् जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।यसअघि उहाँको पार्थिव शरीर १२ बजेसम्म श्रद्धाञ्जलिका लागि कलेज प्राङ्गणमा राखिएको थियो । त्यहाँ राजनीतिक दलका स्थानीय नेता, संस्कृति विद् तथा शुभेच्छुले श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीगणलगायत पार्टी नेता एवं समाजका विभिन्न क्षेत्रका तह र तप्काका व्यक्ति महानगरपालिका पुगेर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । पार्थिव शरीर यहाँ अपराह्न ४ बजेसम्म रहने महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस: शङ्खधर सम्मान मानन्धरलाई प्रदान गर्ने-राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले यस वर्षको ‘शङ्खधर सम्मान’ विराट नेपालभाषा साहित्य सम्मेलन गुथि भक्तपुर, श्यामकृष्ण मानन्धरलाई प्रदान गर्ने भएको छ ।नेपाल संवत् ११४३ नयाँ वर्षको उपलक्ष्यमा आयोजना हुने शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण कार्यक्रममा उक्त सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले जानकारी दिनुभयो ।विगत ६१ वर्षदेखि नेपाल संवत् र नेपाल भाषाको आन्दोलनमा सक्रिय सहभागी भई जनताको हकअधिकारका निम्ति विराट नेपाल भाषा साहित्य सम्मेलनमार्फत जनतालाई सुसूचित गर्दै आएको छ । थुप्रै जनपक्षीय साहित्यकार जन्माइसकेको ऐतिहासिक संस्था विराट गुथीलाई संस्थाले ६१ वर्षसम्म निरन्तर नेपाल संवत् र जातीय मुक्तिका लागि गरेको सङ्घर्षको योगदानलाई कदर गर्दै उक्त सम्मान गर्न लागेको प्रतिष्ठानका सचिव बाबुकाजी साःछे श्रेष्ठले बताउनुभयो ।

त्यसैगरी बिसौँ शङ्खधर साख्वाः र नेपाल संवत्का बारेमा अध्ययन अनुसन्धान गर्दै संस्थागत विकासमा राष्ट्रिय विभूति शङ्खधर साख्वाःको प्रतिमा निर्माणदेखि शङ्खधर प्रतिष्ठान स्थापना गरी महत्वपूर्ण योगदान गर्नुभएको थिमि निवासी श्यामकृष्ण मानन्धरलाई यस वर्ष ‘शङ्खधर सम्मान’द्वारा सम्मान गरिने भएको छ । शङ्खधर प्रतिष्ठानको संस्थापक सचिव हुँदै प्रतिमा निर्माण, शङ्खधर चोक नामकरण, नेपाल संवत् र शङ्खधर साख्वाःका बारेमा व्यापक प्रचारप्रसारमा क्रियाशील रहँदै आउनुभएका प्रतिष्ठानका पूर्वअध्यक्ष मानन्धरलाई सम्मान गर्ने निर्णय गरेको प्रतिष्ठानका उपाध्यक्ष सुरेश प्रधानले बताउनुभयो ।

यस वर्षदेखि नेपाल संवत्का बारेमा संस्कृति, गीत–सङ्गीत, साहित्यिक, पत्रकारिता र अनुसन्धान–अन्वेषनमा योगदान गरेबापत ‘शङ्खधर पदक’द्वारा नेपाल संवत्लाई व्यावहारिकरुपमा लागू गर्ने काठमाडौँ महानगरपालिकाका पूर्वनगरप्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जन, गीत सङ्गीतबाट पवित्र कंशाकार, साहित्यिकतर्फबाट तिलकप्रकाश कायस्थ र सञ्चारकर्मी सुगतरत्न सिदुराकार गरी पाँच जनालाई सम्मान गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर