जर्मन–दक्षिण एसियाली संसदीय टोलीद्वारा भक्तपुरका सम्पदाको अवलोकन — OSNepal

जर्मन–दक्षिण एसियाली संसदीय टोलीद्वारा भक्तपुरका सम्पदाको अवलोकन

LC (KTM) February 21, 2023 0

भक्तपुर-नेपालको भ्रमणमा रहेको जर्मन–दक्षिण एसियाली संसदीय समूहको टोलीले आज भक्तपुर दरबार स्क्वायर क्षेत्रका सम्पदास्थलको अवलोकन गरेको छ । भक्तपुरको दरबार क्षेत्रको अवलोकनमा आएको जर्मन–दक्षिण एसियाली संसदीय समूहमा सदस्य रेनेट कुनास्ट, एन्ड्रियास लरेम, पाउल लेहेरेदर, रिया स्क्रोडर, माल्टी काउफमान, अन्ड्रे हान, सोफिया तुम्स्का र सेबास्टियन स्केनेडरलगायतको सहभागिता रहेको थियो ।

सो टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भादगाउँले टोपी लगाएर स्वागत गर्नुभयो । टोलीले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदा राष्ट्रिय कला सङ्ग्रहालय, दरबार क्षेत्र, तलेजु, पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको अवलोकन गरेको थियो ।

जर्मन प्रोजेक्टले भक्तपुरको सम्पदा संरक्षण र सरसफाइमा सुधार गर्न विगतमा पु¥याएको सहयोगको स्मरण गर्दै नगर प्रमुख प्रजापतिले जर्मनीलाई भक्तपुरका जनताले नबिर्सने बताउनुभयो । भक्तपुरको मौलिक कला संस्कृति र सम्पदा संरक्षणलाई प्राथमिकतामा राख्दै भक्तपुर नपाले काम गर्दै आइरहेको टोलीलाई जानकारी गराउँदै उहाँले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

नगर प्रमुख प्रजापतिले भक्तपुर घुम्न आउने पर्यटकबाट उठेको पर्यटन शुल्कको रकमबाट भक्तपुरको सम्पदा संरक्षण, सरसफाइ, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा खर्च गर्दै आइरहेको जानकारी गराउनुभयो । प्रतिनिधिमण्डलका तर्फबाट जर्मन–दक्षिण एसियाली संसदीय समूहका सदस्य रेनेट कुनास्टले जर्मनी र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने उद्देश्यले नेपाल भ्रमणमा आएको बताउँदै भक्तपुरको कला संस्कृति र मौलिकता संरक्षणबाट आफूहरू निकै प्रभावित भएको बताउनुभयो ।

नेपालको प्राकृतिक सौन्दर्यता र सांस्कृतिक वैभवता नै यहाँका विकासका आधारहरू भएको बताउँदै उहाँले भक्तपुर नपाबाट भइरहेको सम्पदा संरक्षण आफैँमा गौरवको विषय हो भन्नुभयो । जर्मन सरकारले भक्तपुरको सम्पदा पुनःनिर्माणमा चासोपूर्वक सहयोग गर्दै आइरहेको बताउँदै उहाँले नेपालको परम्परागत कृषि विधिलाई आधुनिकीकरण गर्नेतर्फ ध्यान दिनु आवश्यक छ भन्नुुभयो । नगर प्रमुख प्रजापतिले उक्त टोलीलाई भक्तपुरको प्रसिद्ध मयुर झ्याल र भक्तपुर नपाका प्रकाशनहरू उपहारस्वरुप प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर