पृथ्वी राजमार्गमा यात्रुलाई दुई दिन सास्ती — OSNepal

पृथ्वी राजमार्गमा यात्रुलाई दुई दिन सास्ती

LC (KTM) May 02, 2023 0

मलेखु, १९ वैशाख – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलको मुखमा जमिन भासिनुको एउटै कारण हो ‘लापरबाही’ । सडक आयोजना र हाल सडक विस्तारको काम गरिरहेको निर्माण व्यवसायीको लापरबाहीले १८ घण्टा राजमार्ग ठप्प बनेर सयौँ यात्रुले सास्ती भोग्नुपरेको हो ।

सोमबार दिउँसो धादिङको धुनिवेशी नगरपालिका–६ र थाक्रे गाउँपालिका वडा नं ८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासियो । आज बिहान १० बजेसम्म सवारी आवागमन ठप्प रह्यो । सयौँ सवारी बाटोमै अलपत्र रोकिए । कति यात्रुले भोकनिन्द्रा भन्न पाएनन् गन्ती छैन । एम्बुलेन्स पनि बाटैमा रोकियो ।

धार्के बजारका स्थानीय रहेका पत्रकार रामबहादुर ठकुरी (आषिस) भन्नुहुन्छ, “सम्पर्कमा आएका सोध्नेहरु धेरैलाई वैकल्पिक बाटो प्रयोग गर्न सुझाइयो, तर पूर्वपश्चिमका जिल्लाबाट काठमाडौँ आउँदै गरेका सवारीका यात्रुको विचल्ली सहिसक्नु थिएन । पानी किन्न नपाउने अवस्थाको दृष्य हेरिसक्नु रहेन । रातिको समयमा सडकमै बास परेका यात्रुको पीडाको बयान गरिसक्नु थिएन ।”

पुल छेउको जमिन भासिएर सडक अवरुद्ध बनेको गणेश खोला पुलसँगै सडक आयोजनाले नयाँ पुलको निर्माण कार्य थालेको छ । त्यही नयाँ पुलको फाउण्डेशन खन्ने क्रममा पुरानो पुलको फाउण्डेशनको जगसमेत खोतलियो । पुलको पिल्लरलाई सपोर्ट दिन लगाइएका पर्खालका ढुङ्गाहरु पनि थर्किएर भासिन पुग्यो । वर्षातपछि सडकमा बगेको भल त्यही पस्यो । फाउण्डेशन कमजोर बनिसकेको पुलको मुखको जमिन हेर्दाहेर्दै भासियो । धार्के बजारका स्थानीय जगन्नाथ आचार्य भन्नुहुन्छ, “पुरानो पुल पट्टी बढी नखोतल्नुस् पहिरो जान्छ पछि समस्या आउँछ भनेर कामदार र साइड हेर्ने इञ्जिनियरलाई पटक पटक भन्याँै, हाम्रो कुरा सुन्नै चाहेनन्, अहिले यो अवस्था आयो ।”

पुलबाट सवारी आवागमन बन्द भएको सूचना नपाउँदै त्यस क्षेत्रमा पुगेका यात्रुहरुले धार्के बजार आसपासमा थुप्रिए । बाटो खुल्ने छाट नदेखेपछि हिँड्न सक्ने र नजिककैको यात्रामा रहेकाले सटकट बाटो हिँडेरै गन्तव्यतर्फ लागे । पूर्वपश्चिमबाट त्यहाँ आइपुगेकाहरु पनि धेरैले नौविसे र खानीखोलासम्म पैदल हिँडेर अर्काे गाडीमा काठमाडौँ पुगे । हिँड्न नसक्ने र टाढाबाट आएका अधिकांशले आआफ्नै गाडीमा रात बिताए । सडक ठप्प भएको सुचना पाएपछि बीच बाटोमा रोकेका र आफै बैकल्पिक बाटो रोजेकाहरुको त गन्ती नै छैन ।

स्थानीय र जनप्रतिनिधिहरुले पनि एक महिना अघिदेखि नै पुलमा आउन सक्ने संभावित समस्या सडक आयोजना र निर्माण कम्पनीलाई बताएका रहेछन् । तर, उनीहरुले अटेर गरि ढिलासुस्ती गरिदिएकोले समस्या आएको धुनिवेसी नगरपालिका–६ का वडाध्यक्ष रमेश आचार्यले बताउनुभयो । “तीन दिनदेखि पुलमा सवारी एकतर्फी थियो, बाटो विस्तारको जिम्मेवारी पाएका सगुन कन्ट्रक्सनलाई पटक पटक अवगत गराएका थियौँ, नमानेर ढिलासुस्ती गरिरह्यो”, वडाध्यक्ष आचायले भन्नुभयो, “ निर्माण व्यवसायीकै लापरबाही र ढिलासुस्तीकै कारण बाटो अवरुद्ध हुन पुग्यो ।”

नयाँ पुलको फाउण्डेशन बनाउने क्रममा सावधानी नअपनाए कै कारण समस्या उत्पन्न भएको धेरैको बुझाइ छ । “झट्ट हेर्दा पुरानो पुलको फाण्डेशनभन्दा नयाँ पुलको फाउण्डेशनको गहिराइ बढी भएको र नयाँ पुलको फाउण्डेशन खन्ने क्रममा पुरानो पुल पट्टीको भाग कमजोर बनेकोले वर्षातको भलले माटो बगाएर भासिन पुगेको देखिन्छ”, खानीखोला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बम भन्नुभयो ।

नागढुङ्गा मुग्लिन सडक आयोजना पूर्वीखण्डका इञ्जिनीयर जयराम अधिकारी भने ठेकेदार र आयोजनाको कमजोरीभन्दा पनि वर्षात्को पानीले भासिएको बताउनुहुन्छ । “पहिलाको भन्दा अहिले बन्ने पुलको फाउण्डेशनको गहिराई करिब पाँच मिटर गहिरो छ । त्यसमाथि पुलको उचाइ पनि अग्लो भएकाले स्लोपमा कटिङ गर्नुपर्दा पुरानो पुलको छेउसम्म पुगेको हो, तर क्षति पुगेको छैन”, अधिकारी भन्नुहुन्छ, “वर्षात्को बेला सडकमा बगेको भलले हानेर जमिन भासिएको हो, समाचारमा आएजस्तो पुल नै भासिएको होइन ।”

हालको लागि एकतर्फि सडक सञ्चालनमा ल्याइए पनि जोखिम भने टरेको छैन । अहिले भासिएको ठाउँमा ग्याविन जाली लगाएर माटोले पुरिएको छ । ठूलो पानी परेर भल चल्यो भने फेरि पनि भासिने र भलले बगाउने जोखिम उत्तिकै छ ।–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर