सम्पत्ति शुद्धीकरण विधेयकमाथिको प्रतिवेदन संसद्मा पेश — OSNepal

सम्पत्ति शुद्धीकरण विधेयकमाथिको प्रतिवेदन संसद्मा पेश

LC (KTM) October 12, 2023 0

काठमाडौँ, २५ असोज : प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले समितिले दफावार छलफल गरी तयार गरेको उक्त प्रतिवेदन पेश गर्नुभएको हो ।

गत वैशाख १५ गतेको बैठकमा प्रतिनिधिसभा नियमावली अनुरुप दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित भएपछि कानुन, न्याय तथा मानवअधिकार समितिमा पठाइएको थियो । उक्त विधेयक समितिमा प्राप्त भएपछि गत जेठ ८ गतेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक प्रस्तुत गर्नुभएको थियो ।

गत भदौ १९ गते समितिले ११ सदस्यीय उपसमित गठन गरी विधेयकबारे सरोकारवालासँग छलफल गरेर प्रतिवेदन तयार गरेको थियो । उपसमितिको प्रतिवेदन समितिमा पेश भएर छलफल भई असोज २४ गतेको बैठकमा उपसमितिको प्रतिवेदन र उक्त विधेयकमाथि छलफल भई समितिबाट पारित भएको थियो ।

सभापति सुवेदीले विधेयक पारित भएपछि हालको १९ वटा ऐनमा संशोधन भई सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनमा कानुनी सुधार आउनुका साथै सम्पत्ति शुद्धीकरणका निम्नि नेपालको कानुन अन्तर्राष्ट्रियस्तरको हुने र यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्नुभयो ।

साथै, उहाँले नेपालको आर्थिक तथा वित्तीय अवराध नियन्त्रण प्रणाली मजबुद भई पुँजी पलायन रोक्न र वित्तीय सशासन प्रवद्र्धनमा टेवा पुग्ने उहाँले उल्लेख गर्नुभयो ।

विद्यालय शिक्षा विधेयक समितिमा पठाइयो

प्रतिनिधिसभाको आजको बैठकले विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ । बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रस्तुत गर्नुभएको ‘विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भन्ने प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो । प्रतिनिधिसभाको अर्को बैठक यही असोज २६ गते शुक्रबार दिउँसो २ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर