स्मार्ट विद्युत् मिटर जडानलाई तीव्र बनाउँदै विद्युत् प्राधिकरण भरतपुर — OSNepal

स्मार्ट विद्युत् मिटर जडानलाई तीव्र बनाउँदै विद्युत् प्राधिकरण भरतपुर

LC (KTM) October 20, 2023 0

नारायणगढ (चितवन)- नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले थ्री फेज मिटर जडान गरिएका ग्राहकको स्मार्ट विद्युत् मिटर बक्स जडानको कामलाई तीव्र बनाएको छ । विद्युत् चुहावट नियन्त्रण गर्ने र प्राधिकरणलाई अनलाइन प्रणालीमा ल्याउने उद्देश्यका साथ मिटरबक्स परिवर्तन गरिएको हो ।

केन्द्रका इन्जिनियर रुद्रराज विष्टका अनुसार स्मार्ट ग्रीड एण्ड मिटरिङ आयोजनाले थ्री फेज लाइन जडान भएका स्थानमा स्मार्ट मिटरबक्स जडानको काम गरेको हो । यस वर्ष पाँच सयवटा मिटर परिवर्तन गरिसकिएको छ । योसँगै दुई हजार एक सयवटा स्मार्ट मिटरबक्स जडान गरिएको हो । मिटरबक्समा डाटा सञ्चालनका लागि सिमकार्डको प्रयोग गरिन्छ । यसले मिटर रिडिङ गर्न सहज बनाउने उहाँले बताउनुभयो । औद्योगिक क्षेत्र र थ्री फेज लाइन जडान गरिएका ग्राहककामा मिटरबक्स परिवर्तन गर्न लागिएको हो ।

कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले जिल्लामा थ्री फेज मिटर जडान गरेका चार हजार स्थानमा यो मिटरबक्स प्रयोग गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “लाइन काट्न र जडान गर्न सहज हुने छ । मनिटरिङको काम कार्यालयबाटै गर्न सकिने छ ।” विसं २०७८ देखि जडानको काम सुरु गरेको भएपनि अहिले यसलाई प्रभावकारीरूपमा अघि बढाइएको उहाँले जानकारी दिनुभयो । मिटर रिड आवश्यक नपर्ने हुँदा खर्चसमेत कम हुने उहाँले बताउनुभयो । स्मार्ट मिटर जडान गरिएको ठाउँमा एसएमएसमार्फत विद्युत् महसुलको बिल पठाउने व्यवस्थासमेत गरिएको छ ।

प्राधिकरणलाई अनलाइन प्रक्रियामा ल्याउनका लागि यो बक्स जडान गरिएको उहाँले जानकारी दिनुभयो । उपभोक्ताले विद्युत्को महसुल तिरे÷नतिरेको समेत कार्यालयमै बसेर हेर्न मिल्ने उहाँले बताउनुभयो । विद्युत् खपतको वास्तविकतासमेत हेर्न सकिने गरी यो बक्स जडान गरिएको हो । उहाँले भन्नुभयो, “उपभोक्ताले मिटर हेरेर जानकारी लिन सक्छन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर