चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा भेटिए ५३ प्रजातिका चरा — OSNepal

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा भेटिए ५३ प्रजातिका चरा

LC (KTM) January 18, 2024 0

चितवन-चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ५३ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेसन सोसाइटीले हालै गरेको चरा गणनाका क्रममा गत वर्ष नभेटिएका चार प्रजातिका चरासमेत यसपटक भेटिएका हुन् ।सोसाइटीका अध्यक्ष टीकाराम गिरीका अनुसार यस वर्ष तिलहरी चरा, मसिनोठुडे टिमटिमा, नादुन हाँस र चित्राङ्गद जातका चरा भेटिएका छन् । केही वर्षअघि भेटिएका तर गत वर्ष नभेटिएका यी चरा पुनः भेटिएका हुन् ।

गणनाका क्रममा पानीहाँस चखेवा तीन हजार छ सय ८७, जलकौवा सानु एक सय आठ, जलकौवा ठूलो पाँच सय ५६ भेटिएका छन् । कूल ५३ प्रजातिका पानी चरा छ हजार पाँच सय ४० वटा भेटिएका हुन् । पानी बाहिरका तीन हजार चार सय ६४ गरी १० हजार चार चरा भेटिएका गिरीले जानकारी दिनुभयो ।

सोसाइटीले सन् १९८७ देखि चरा गणना गर्दै आएको छ । नेपाललगायत पूर्वी एशियाका ३५ देशमा प्रत्येक वर्ष अंग्रेजी वर्षको जनवरीमा पानी चरा गणना गरिँदै आएको छ । सोसाइटीले हाल जाडो यामका पानी चरा गणना गरेको हो । जनवरी ७ देखि हिमालयन नेचरसँगको सहकार्यमा चितवनका लोथर गैडहवा, गैडहवादेखि सौराहा, सौराहादेखि कसरा, तमोर ताल, लामी ताल, बीसहजारी ताल र यससँग सम्बन्धित तालमा चरा गणना गरिएको हो ।यसैगरी भण्डारा माछा पोखरी, बूढीराप्ती, ढुङ्गरे खोला, पटना ताललगायतका स्थानमा जाडो यामका चरा गणना गरिएको सोसाइटीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर