गृहमन्त्रीसमक्ष कार्यदलद्वारा सूचनाप्रणाली विकाससम्बन्धी प्रतिवेदन पेस — OSNepal

गृहमन्त्रीसमक्ष कार्यदलद्वारा सूचनाप्रणाली विकाससम्बन्धी प्रतिवेदन पेस

LC (KTM) March 01, 2024 0

काठमाडौँ- एकीकृत आपत्कालीन प्रतिकार्य प्रणालीसम्बन्धी अवधारणा तथा कार्ययोजना तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको छ ।

गृह मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा कार्यदलका संयोजक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेले प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । प्रतिवेदनमा विभिन्न निकायद्वारा सञ्चालित आपत्कालीन नम्बर तथा प्रणालीको वर्तमान अवस्था, अन्तरराष्ट्रिय अभ्यास, एकीकृत प्रणाली विकास गर्नुपर्ने आवश्यकता, समस्या र चुनौती, प्रस्तावित ढाँचाका अतिरिक्त प्रणाली विकास गर्न आवश्यक नीतिगत, संरचनागत र प्रविधिगत सुझाव समावेश गरेको कार्यदल संयोजक पाण्डेले जानकारी दिनुभयो ।

आपत्कालीन अवस्थामा परेका व्यक्तिले आफूसँग रहेको सञ्चार साधन प्रयोग गरी केन्द्रीय प्रणालीमा सूचना दिने र आवश्यक आपत्कालीन सेवा लिन सक्ने गरी प्रणाली विकासका लागि कार्ययोजना तयार गर्न उपप्रधानमन्त्री श्रेष्ठले ११ सदस्यीय उक्त कार्यदल गठन गर्नुभएको थियो ।

कार्यदलमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरीका एक–एक र नेपाल प्रहरीका दुईजना प्रतिनिधि र सूचनाविज्ञ हुनुहुन्छ । तत्कालका लागि प्रहरी सेवा, एम्बुलेन्स र दमकल सेवाको एकीकृत प्रणालीको विकास गर्न प्रतिवेदनमा विस्तृत कार्ययोजना पनि प्रस्ताव गरिएको छ ।आपत्कालीन प्रयोजनका लागि विभिन्न देशमा एकल नम्बरको अभ्यास भइसकेको छ । भारतमा एक सय १२, चीनमा एक सय १०, अमेरिका र पाकिस्तानमा नौ सय ११ नम्बर प्रयोगमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर