मनसुनजन्य विपद् प्रतिकार्य पूर्वतयारीका लागि कृत्रिम अभ्यास सम्पन्न — OSNepal

मनसुनजन्य विपद् प्रतिकार्य पूर्वतयारीका लागि कृत्रिम अभ्यास सम्पन्न

LC (KTM) March 28, 2024 0

कर्णाली- सुर्खेतको भेरीगङ्गा नगरपालिका ११ चिप्ले र लेकबेसी नगरपालिकाको छोटेस्थित मनसुनजन्य विपद् प्रतिकार्य पूर्वतयारीका लागि कृत्रिम अभ्यास सम्पन्न गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल, ३२ गण हेडक्वाटर रक्तकाली, सुर्खेतको संयोजनमा  चिप्ले र छोटे जोड्ने भेरी नदीमा विपद् प्रतिकार्यका लागि पूर्वतयारीको अभ्यास देखाइएको थियो । बाढीको समयमा बगेर वा डुबेर खतरामा परेकाको खोज तथा उद्धार कसरी गर्न सकिन्छ र विपद्सँग जुध्न गर्नुपर्ने पूर्वतयारी के हो भन्नेबारे सरोकारवालालाई जानकारी दिन कृत्रिम अभ्यास गरिएको सशस्त्र प्रहरी बल नेपाल, ३२ गण हेडक्वाटर रक्तकाली, सुर्खेतका गणपति राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

भेरीगङ्गा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले विपद् प्रतिकार्यको पूर्वतयारीका लागि गरिएको खोज तथा उद्धारको कृत्रिम अभ्यास प्रभावकारी भएको बताउनुभयो । विपद् जति बेला पनि आउन सक्ने भन्दै यसका लागि आज सञ्चालन गरिएको अभ्यासले सरोकारवाला सबैलाई राम्रो सन्देश दिएको जनाउनुभयो ।

लेकबेसी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेलले आजको कृत्रिम अभ्यासले विपद् प्रतिकार्य तथा खोज उद्धारमा खटिने जनशक्तिको क्षमता अभिवृद्धि भएको प्रतिक्रिया दिनुभयो । घटना घट्दा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्दै आएको जनाउँदै उहाँले कृत्रिम अभ्यासले क्षमतामा निखार ल्याउने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले विपद्को समयमा बाढीबाट मानवीय क्षति हुन नदिन कार्यक्षमता बढाउने उद्देश्यले कृत्रिम अभ्यासको आयोजना गरिएको बताउनुभयो । “खोज तथा उद्धार आफैमा जोखिम र कठिन कार्य हो,” उहाँले भन्नुभयो, “जीउज्यान जोखिम राखेर विपद्सँग जुध्ने जटिल कार्य हो तर तीनै सुरक्षा निकायको काम सह्रानीय छ ।”

कृत्रिम अभ्यासको क्रममा सशस्त्र प्रहरीले भेरी नदीको बाढीले बगाएका र डुबाएका नागरिकलाई उद्धार तथा खोजका लागि रोवट डुङ्गा, गोताखोर, स्ट्रेचर, ब्याक बोट, क्याराबिन जस्ता विपद् सामग्री तथा उपकरण प्रयोग गरिएको थियो । मनसुनजन्य विपद्ले आउने बाढीमा परी आपत एवं सङ्कटमा परेका मानिसको खोज, उद्धार र राहतमा सबै तहका सरकार, प्रशासन, सुरक्षा निकाय, रेडक्रस, नागरिक समाजलगायतका सरोकारवालाको भूमिकाबारे पनि जानकारी गराइएको थियो ।

उक्त विपद् प्रतिकार्यको पूर्वतयारीको कृत्रिम अभ्यासमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्का, नेपाली सेनाका सेनानी प्रकाशकुमार गिरी, जिल्ला अनुसन्धान कार्यालय सुर्खेतका प्रमुख प्रकाश शाह, रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल आचार्य, विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधि र स्थानीयसहित करिब दुई सयको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर