महोत्तरीमा भूमाफियाले बनाए ८५ घरपरिवारलाई बेघर — OSNepal

महोत्तरीमा भूमाफियाले बनाए ८५ घरपरिवारलाई बेघर

LC (KTM) September 09, 2021 0

महोत्तरी, २४ भदाै -बर्दिबास पशुपतिनगरका रामबाबु महतो पुस्तौंदेखि आफूले हकभोग गर्दै आएको जमिनमा एकाएक गाउँकै रामभजन महतोले लालपुर्जा देखाउँदै आफ्नो भएको दाबी गरेपछि छाँगाबाट खसेजस्तै भए । अहिले आफ्ना बाबुबाजेले पुस्तैनी उपभोग गर्दै आएको करिब तीन कट्ठा जग्गामा लालपुर्जा देखाउँदै अधिग्रहण गरेको जग्गा फिर्ता दिलाउन महतो विभिन्न सरकारी कार्यालयमा धाइरहेका छन्, तर कुनै सुनुवाइ हुन सकेको छैन ।

उक्त जग्गाबाटै पारिवारिक भरणपोषण गर्दै आएका महतोलाई भएको जग्गासमेत अर्कैले हस्तक्षेप गरेपछि जीविकोपार्जनका लागि समस्या बन्दै गएको छ ।‘न्यायका लागि धेरै भौतारिसकियो, तर सुनुवाइ कतैबाट हुन सकेन,’ उनले भने ।

रामबाबुकै जस्तो समस्या भंगाहा–४ कि सीतादेवी साहको पनि छ । पुस्तैनी सोही ठाउँमा बसोबास गर्दै आएकी सीतादेीको परिवारले करिब दुई बिघा जगा हकभोग गर्दै आए पनि अचानक बाहिरबाट आएका मानिसले लालपुर्जा देखाएर जग्गा छाड्न ताकेता गरिरहेका छन् ।

उनीहरू त प्रतिनिधि मात्र हुन् । रामबाबु र सीतादेवी जस्तै भंगाहा नगरपालिका–४ मा पुस्तैनी ऐलानी जग्गा हकभोग गर्दै आएका ६२ घरपरिवार र बर्दिबास नगरपालिकाका २५ घरपरिवार गरी करिब ८७ घरपरिवार भूमाफियाका कारण घर न घाटको बनेका छन् । ५०औं वर्षदेखि आफ्नो जग्गा भोगचलन गर्दै आएका ८७ घरपरिवार भूमाफिया र सरकारी अधिकारीको मिलमेतोमा अहिले बेघरमात्र बनेका छैनन्, बिहान बेलुका के खाने भन्ने अवस्थामा पुगेका छन् ।

कसरी बने बेघर ?

०५४ मा बनेको भूमि आयोगले लालपुर्जा वितरण गर्ने क्रममा जोताहा किसानलाई स्वामित्व दिनुको सट्टा आफन्त, नातागोता, कर्मचारी र हुनेखानेलाई नै जग्गाको पुर्जा बाँड्दा भूमाफियालाई सहयोग पुगेको राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालको ठहर छ ।

०५४ मा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरण गर्न बनेको भूमि आयोगले वास्तविक पीडितलाई पहिचान गर्न नसक्दा अहिले समस्या सिर्जना बनिरहेको अधिकार मञ्चको बुझाइ छ । पुस्तैनी हकभोग गर्दै आएको जग्गा भित्रभित्रै अरुकै नाममा लालपुर्जा निकालेर गलत भएको भन्दै राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल महोत्तरीले ०५४ मा गरेका सम्पूर्ण निर्णय खारेजी गर्न माग गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गरी भूमि अधिकार मञ्च नेपालले वीरगन्ज, पर्सा, भोजपुर, टक्सार, एकडारा, खयरमारा, बथनाहा, जलेश्वर, रघुनाथपुर, सुगालगायत ठाउँमा कर्मचारी र आफन्तलार्ई कित्ताकाट गरी पुर्जा वितरण गरिएको पनि अधिकार मञ्चले दाबी गरेको छ । मालपोत कार्यालय बर्दिबासले ०५४ को आयोगले वितरण गरेको पुर्जाको विवादित अभिलेख ढड्डा जलेश्वरबाट झिकाइ भित्रभित्रै बिक्री वितरण गरिरहेको भूमि अधिकार मञ्च नेपालका केन्द्रीय सदस्य फौदसिंह स्याङबाको दाबी छ । अहिले नापी कार्यालयका कर्मचारी तथा महोत्तरीका बासिन्दा सञ्जय यादवसँग मात्र बिघौबिघा जग्गा आफ्नो नाममा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर