कांग्रेस महाधिवेशन :पर्साको पालिका अधिवेशन अन्योल — OSNepal

कांग्रेस महाधिवेशन :पर्साको पालिका अधिवेशन अन्योल

LC (KTM) November 28, 2021 0

वीरगञ्ज, १२ मङ्सिर- नेपाली कांग्रेस आसन्न महाधिवेशनअन्तर्गत प्रदेश, जिल्ला तथा पालिका तहको निर्वाचन भइरहँदा पर्सामा भने गाउँ र नगरपालिका अधिवेशन समेत अन्योलमा परेको छ । जिल्ला निर्वाचन समितिका अनुसार गाउँ र नगरपालिका अधिवेशन स्थगन गरी प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको समय सार्वजनिक गरेको हो ।

जिल्लाभित्र पर्ने अधिवेशनको प्रक्रिया अघि बढाएको भए पनि गाउँ÷नगरपालिका अधिवेशन पछि हुने गरी हाललाई रोकिएको उल्लेख गरिएको छ । जिल्लामा नेताको सहमतिबाटै जिल्लास्थित ती क्षेत्रीय अधिवेशनको समय तोकिएको जिल्ला निर्वाचन अधिकृत अधिवक्ता नरेन्द्रकुमार केसीले जानकारी दिनुभयो ।

प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते हुने समय तोकिएकाले यसअघि गाउँ र नगर अधिवेशन भ्याउन नसक्ने जिल्ला निर्वाचन समितिको ठहर छ । यसले कांग्रेसको जिल्ला अधिवेशन पनि केन्द्रीय महाधिवेशनपछि मात्रै हुने सम्भावना बढेको जनाइएको छ । यस्तै जिल्लामा रहेको १४ पालिकाको अधिवेशन पनि महाधिवेशनपछि मात्रै हुने सम्भावना देखिएको हो ।यसअघि कांग्रेसको १२ र १३औँ महाधिवेशनमा पनि पर्सा जिल्लाको जिल्ला अधिवेशन, केन्द्रीय महाधिवेशनपछि नै भएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर