ताप्लेजुङको लेकाली बस्तीका समुदाय हिमपात छल्न औलतिर बसाइँ सरे — OSNepal

ताप्लेजुङको लेकाली बस्तीका समुदाय हिमपात छल्न औलतिर बसाइँ सरे

LC (KTM) November 11, 2021 0

फुङ्लिङ-ताप्लेजुङको लेकाली बस्ती तोक्पेगोलाका समुदाय हिमपात छल्न औलतिर बसाइँ सरेका छन् । हिमपातको मौसम सुरु भएसँगै मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलाका समुदाय हिमपात छल्न लौलतिर बसाइँ सरेका हुन् ।कात्तिकयता हिमाली क्षेत्रमा हिमपात सुरु भएसँगै चिसो मौसम सुरु भएकाले तोक्पेगोला बस्ती नजिकका उच्च डाँडामा हिउँ पर्न थालेपछि त्यहाँका बासिन्दा न्यानो ठाउँ खोज्दै औलतिर बसाइँ सरेका हो । करिब तीन हजार ३०० मिटर उचाइमा रहेको बस्ती तोक्पेगोलाका बासिन्दा मौसमी बसाइँ सर्ने गर्दछन् । हाल बस्ती नजिक डाँडामा हिउँ पर्न थालेको र कात्तिक तेस्रो सातापछि तोक्पेगोला बस्ती रहेकै क्षेत्रमा हिउँ पर्ने भएकाले यहाँका बासिन्दा बर्षेनी मौसमी बसाइँ सर्ने गरेका छन् ।

गत वर्षको तुलनामा यसवर्ष चाँडै हिमपातसँगै चिसो सुरु भएको र दिनदिनै अत्यधिक चिसो बढ्न थालेपछि तोक्पेगोलाका बासिन्दा औलतिर बसाइँ सरेका मिक्वाखोला गाउँपालिका–५ पापुङका वडाध्यक्ष डण्डु लामाले बताउनुभयो । तोक्पेगोलामा हाल १३ घरपरिवार बस्दै आएका र शुक्रबारसम्ममा उनीहरू सबै परिवार औलतर्फ झरिसकेको लामाले बताउनुभयो ।

तोक्पेगोलाका बासिन्दा चिसो छल्नलाई पापुङकै तल्लो बस्तीमा मौसमी बसाइँ सरेका वडाध्यक्ष लामाले जानकारी दिनुभयो । हिमपात र चिसो छल्न हिमाली क्षेत्रदखि औल झरेका समुदाय करिब छ महिनापछि तोक्पेगोला फर्कन्छन् । चिसो मौसम सकिएपछि वैशाखतिर मौसमी बसाइँ सरेका पुरानै ठाउँ तोक्पेगोलामा पुनःबसाइ सर्ने गरेको पापुङका वडा सदस्यसमेत रहनुभएका स्थानीय पासाङ शेर्पाले बताउनुभयो ।

पशुपालन पेशामा आबद्ध रहेका तोक्पेगोलाका बासिन्दाले आआफ्नो पशुचौपाया तथा गोठ पनि तल्लो क्षेत्रमा सार्ने गरेका शेर्पाले बताउनुभयो । शेर्पा समुदायको मात्र बसोबास रहेको तोक्पेगोलाका बासिन्दाले घरमा ताल्चा लगाएर बसाइँ सर्ने र औल क्षेत्रमा उनीहरू आफैँले अस्थायी घरटहरा बनाएर बस्ने गर्दछन् । तोक्पेगोलाका बासिन्दा अधिकांशको तल्लो औल क्षेत्रमा पनि आफ्नो जग्गा जमिन रहेको बताइएको छ ।यता जिल्लामा पनि चिसो निक्कै बढेको छ । दिन प्रतिदिन बढ्दै गएको चिसोका कारण उच्च हिमाली बस्तीका बासिन्दा प्रभावित बन्दै गएका छन् भने एक हजार ८०० मिटर उचाइ रहेको सदरमुकाम फुङ्लिङ बजारमासमेत चिसो बढेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर