पाेखरामा अक्सिजन अभावले सुत्केरी महिलासहित ६ जनाले ज्यान गुमाए — OSNepal

पाेखरामा अक्सिजन अभावले सुत्केरी महिलासहित ६ जनाले ज्यान गुमाए

Kesh Karki (USA) May 28, 2021 0

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा बिहीबार मध्यरातदेखि बिहान ४ बजेसम्म अक्सिजनकै अभावले सुत्केरी महिलासहित ६ जनाले ज्यान गुमाएका छन् । अस्पतालमा एक्कासी अक्सिजनको अभाव भएको र हाइफ्लो दिएर उपचार भइरहेका बिरामीले सोही अनुसार अक्सिजन नपाउँदा मृत्यु भएको हो ।

पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठान कोभिड–१९ को उपचार गर्ने गण्डकी प्रदेशकै ठूलो संघीय अस्पताल हो । यही अस्पतालमा एक्कासी अक्सिजनको अभाव हुँदा रातभर दौडादौड चल्यो तर पनि ६ जनाले ज्यान गुमाए ।

तनहुँका ३ जना, म्याग्दी, पर्वत १ र स्याङ्जाका १ जनाको ज्यान गएको हो । अक्सिजन उद्योगले पर्याप्त अक्सिजन सिलिन्डर पठाएको बताउँछ तर सरकारी अस्पतालमै अक्सिजनको अभावले बिरामीले ज्यान गुमाउनु पर्ने अवस्थाको सिर्जना भएको हो । हाइफ्लो अक्सिजन नपाएर ज्यान गुमाएका संक्रमितका आफन्तले बेलैमा सचेत गराइदिएको भए आफैं जसरी पनि जोहो गर्ने बताउँछन् ।

कोभिड अस्पतालका फोकल पर्सन डा. शरद बरालले हाइफ्लो अक्सिजन नपाउँदा सुत्केरीको ज्यान गएको देखिएको र बाँकीमा अन्य दीर्घ रोगले बढी च्यापेको देखिएको बताए । अस्पतालमा हाइफ्लोका बिरामी बढ्दा एक्कासी अक्सिजनको समस्या देखिएको डा. बरालको भनाइ छ ।

सहज अक्सिजन आपूर्ति नभएकै कारण समस्या भएको डा. बरालले बताए । हाइफ्लोका बिरामीलाई धेरै अक्सिजन चाहिने र दिइरहेकोभन्दा अलिकति पनि कम हुनेबित्तिकै ज्यानको जोखिम हुने बराल बताउँछन् ।

‘हाइफ्लोका बिरामीलाई प्रतिमिनेट ६० देखि ८० लिटरसम्म अक्सिजन प्रयोग गर्नुपर्ने हुन्छ । यस्ता बिरामी बढे र समयमा आपूर्ति नहुँदा समस्या भएको हो,’ डा. बरालले भने, ‘अन्य लोफ्लोमा अक्सिजन दिएर हुने बिरामीलाई प्रतिमिनेट १४ लिटर भए पुग्छ ।’

ठूलो सिलिन्डर ६ हजार लिटर हुनुपर्ने भए पनि ५ हजार लिटरको हाराहारीमा अक्सिजन हुन्छ र त्यसमा पनि केही लिकेज हुने डाक्टर बराल बताउँछन् ।

पोखराको स्वास्थ्य विज्ञानमा मात्र होइन, पोखराको अन्य अस्पतालमा पनि एक्कासी अक्सिजनको अभाव भएको चिकित्सकहरुले बताइरहेका छन् । पोखरामा दैनिक १३ देखि १४ सय सिलिन्डरसम्म दैनिक उत्पादन हुने बताइएको छ । तर, त्यो सिलिन्डर कहाँ र कसरी जान्छ र किन अभाव भइरहेको छ भन्ने आश्चर्य लागिरहेको अस्पतालहरुले बताइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर