विदेशबाट फर्केका युवाले कुखुरापालनबाट गरे २० लाख नाफा — OSNepal

विदेशबाट फर्केका युवाले कुखुरापालनबाट गरे २० लाख नाफा

LC (KTM) December 10, 2021 0

कञ्चनपुर, २४ मङ्सिर -शुक्लाफाँटा नगरपालिका–३ का २५ वर्षीय जयराम चौधरी गतिलो कमाईका लागि दुई पटक विदेश पुग्नुभयो । पाँच वर्ष विदेश बसे पनि उहाँले मनग्य पैसा आर्जन गर्न सक्नुभएन् । विदेशबाट कमाएको पैसाले घरमै व्यवसाय गर्ने चौधरीको ठूलो धोको थियो । तर थोरै पैसा मात्रै बचत गर्न सकेपछि उहाँले व्यवसाय गर्न ऋण काढ्नतर्फ लाग्नुभयो । ऋण नपाएपछि चौधरी कतार उड्नुभयो ।

कतार पुगेपछि कोराना महामारी फैलियो । “निषेधाज्ञाका कारण खासै कमाइ भएन,” उहाँले भन्नुभयो, “घर फर्किए पनि कोरोनाकै त्रास थियो । त्रासमै बस्नुपर्ने अवस्था आयो ।” विदेशबाट कमाएको रु तीन लाखले चौधरीले कुखुरापालनको सुरुआत गर्नुभयो । दुईवटा फार्म बनाएर उहाँले कुखुरापालन गर्न थाल्नुभयो । “फार्म, दानापानी र औषधोपचारमा धेरै खर्च हुन थाल्यो । विदेशबाट दुःख गरेर ल्याएको पैसा सिद्धिएर घाटा हुने हो कि भन्ने चिन्ता भयो,” उहाँले भन्नुभयो, “तर पहिलो लट्मै रु पाँच लाखको कुखुरा बिक्री भयो ।”

फार्म निर्माण, दानापानी र औषधोपचारमा लागेको खर्च कटाएर रु एक लाख ५० हजार नाफा भएको चौधरीले बताउनुभयो । दुई फार्ममा उहाँले सात हजार कुखुरा पाल्दै आउनुभएको छ । हालसम्म चौधरीले रु २० लाख नाफा आर्जन गर्नुभएको छ । “विदेशमा जति परिश्रम गरे पनि महिनाको रु ३५ हजार रकम मात्रै मासिक रुपमा हात पथ्र्याे । यहाँ विदेशको भन्दा चार गुणा बढी आम्दानी हुन्छ”, उहाँले भन्नुभयो । विदेशमा भन्दा घरमै गतिलो आम्दानी हुन थालेपछि चौधरी खुशी हुनुहुन्छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर