सात सय वर्ष पुरानो लक्ष्मी नरसिंह मन्दिर पुनःनिर्माण सुरु, ‘ख्वप मोडल’ नमूना : बिजुक्छे — OSNepal

सात सय वर्ष पुरानो लक्ष्मी नरसिंह मन्दिर पुनःनिर्माण सुरु, ‘ख्वप मोडल’ नमूना : बिजुक्छे

LC (KTM) December 14, 2021 0

भक्तपुर, २७ मङ्सिर -नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिकाको नमूना ‘ख्वप मोडल’ देशका अन्य जिल्ला तथा स्थानीय तहहरुले पनि सिक्न चाहेको बताउनुभएको छ । भक्तपुर नगरपालिकाले आज नगरपालिका–४ गःहिटीमा रहेको ऐतिहासिक लक्ष्मी नरसिंह मन्दिरको पुनःनिर्माणको शिलान्यास गर्दैै उहाँले मौलिक सम्पदा संरक्षण र यसको महत्व बुझाउन नयाँ पुस्तालाई विद्यार्थी जीवनदेखि सिकाउनु आवश्यक भएको बताउनुभयो ।

अध्यक्ष बिजुक्छेले भक्तपुरका अरू सम्पदा पुनःनिर्माणमा जस्तै लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणमा पनि यहाँका स्थानीय जनताले अपनत्व ग्रहण गर्ने विश्वास व्यक्त गर्दै पुनःनिर्माण पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७२ सालको भूकम्पबाट क्षति पुगेको १२० वटा सम्पदामध्ये भक्तपुर नपाले ११८ वटा जीर्णोद्धार र पुनःनिर्माण सम्पन्न गरिसकेको बताउनुभयो । उहाँले भूकम्पले भत्किएको यो मन्दिर पनि उपभोक्ता समितिमार्फत पुरानै मौलिक शैलीमा जनसहयोगसमेत रहने गरी सम्पन्न गर्ने बताउनुभयो । मन्दिर पुनःनिर्माणमा कूल रु तीन करोड ७१ लाख २७ हजार ५१५ लाग्ने अनुमान गरिएको छ ।

कार्यक्रममा इतिहासविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले जयस्थिति मल्लको पालामा बनेको ७०० वर्ष पुरानो यो मन्दिर नेपालको एकमात्र शक्तिसहित शान्त स्वभावको लक्ष्मी नरसिंह मन्दिर भएको चर्चा गर्दै भक्तपुर १२औँ शताब्दीदेखिको सम्पदाहरुको संरक्षण आवश्यक रहेको बताउनुभयो ।दरबार हेरचाह अड्डा भक्तपुर कार्यालयका प्रमुख अरुणा नकर्मीले यस मन्दिरको पुरानो काठहरु बाँकी भएकाले त्यसलाई अनुसन्धान गरेर इतिहासका विषय खोज्न सकिने बताउनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर