जीप र बसको भाडा निर्धारण,कहाको कति? — OSNepal

जीप र बसको भाडा निर्धारण,कहाको कति?

LC (KTM) December 17, 2021 0

खोटाङ, २ पुस – केपिलासगढी गाउँपालिकाको केन्द्र बाक्सिला बजारबाट राजधानी काठमाडौँ तथा तराईका विभिन्न जिल्लाका लागि छुट्ने लामो तथा छोटो दूरीको जीप तथा बसको भाडा निर्धारण गरिएको छ । यातायात व्यवसायीले यात्रुबाट यसअघि मनपरी असुल्दै आएको भाडा नियन्त्रण गर्दै आगामी दिनमा यातायात भाडामा एकरुपता ल्याउन गाउँपालिकाले जीप तथा बसको भाडा निर्धारण गरेको हो ।

जीपबाट बाक्सिला–काठमाडौँका लागि एकतर्फी जनही रु दुई हजार ५००, बाक्सिला–कटारी–धरानका लागि रु दुई हजार ७००, बाक्सिला–गाईघाट–धरानका लागि रु दुई हजार ४०० भाडा निर्धारण गरेको छ । यस्तै बाक्सिला–हुर्लुङका लागि रु ६००, बाक्सिला–दिक्तेलका लागि रु ७००, बाक्सिला–थर्पुका लागि रु १००, बाक्सिला–आम्बोटेका लागि रु १५०, बाक्सिला–जालपाका लागि रु ३५०, बाक्सिला–महुरेका लागि रु ७००, बाक्सिला–अर्खौलेका लागि रु ८५०, बाक्सिला–हलेसीका लागि रु एक हजार भाडा निर्धारण गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले जानकारी दिनुभयो ।

यस्तै बाक्सिला–च्यास्मिटारका लागि रु एक हजार ३००, बाक्सिला–जयरामका लागि रु एक हजार ४००, बाक्सिला–हिलेपानीका लागि रु एक हजार ५००, बाक्सिला–घुर्मीका लागि रु एक हजार ६००, बाक्सिला–रसुवाका लागि रु एक हजार ५००, बाक्सिला–गाईघाटका लागि रु दुई हजार, बाक्सिला–बेलटारका लागि रु दुई हजार २०० र बाक्सिला–कटारीका लागि रु दुई हजार १०० भाडा तोकिएको जनाइएको छ ।

बसमा बाक्सिला–हुर्लुङका लागि रु ५००, बाक्सिला–दिक्तेलका लागि रु ६००, बाक्सिला थर्पुका लागि रु १००, बाक्सिला–आम्बोटेका लागि रु १५० र बाक्सिला–जालपाका लागि रु ३०० भाडा निर्धारण गरिएको छ । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको उक्त सडकखण्डमा बसमार्फत लामो दूरीको यातायात सञ्चालन भएको छैन ।

दश स्थानीय तह रहेको जिल्लामा अन्य स्थानीय तहले भने अहिलेसम्म यातायात भाडादर निर्धारण गरेका छैनन् । यातायात व्यवसायीले आफूखुशी लागू गरेको भाडादर अस्वाभाविकरूपमा बढी भएको यात्रुहरुले गुनासो गर्दै आएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा अहिले यात्रुवाहक यातायातका साधन सञ्चालन भएका छन् । कच्ची सडक भएका कारण हिउँदभर मात्र सञ्चालन हुने यातायातले स्थानीय बासिन्दालाई सेवा दिए पनि भाडामा ठगिने गरेका छन् ।
(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर