सात वर्ष विदेश बसेर फर्केका गुल्मीका कुँवरले जग्गा किनेर सुरु गरे गाईपालन, गर्छन सोचे भन्दा बढि आम्दानी — OSNepal

सात वर्ष विदेश बसेर फर्केका गुल्मीका कुँवरले जग्गा किनेर सुरु गरे गाईपालन, गर्छन सोचे भन्दा बढि आम्दानी

LC (KTM) December 22, 2021 0

तम्घास गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोक लाहाटाका ३५ वर्षीया लुल्सिराम कुँवर सात वर्ष विदेश बस्नुभयो । उहाँले काजकिस्तान दुवैलगायतका देशमा खाना बनाउने काम गर्नुहुन्थ्यो । विदेशमा आम्दानी पनि राम्रै हुन्थ्यो तर चार वर्ष पहिले गाउँ आएका उहाँको मन फेरियो । यसपछि उहाँले घर नजिकै जग्गा किनेर व्यावसायिक गाईपालन सुरु गर्नुभयो । धनञ्जय कृषि तथा पशुपक्षी फार्ममार्फत चार वर्षअघि चार गाईबाट व्यवसाय सुरु गरेका उहाँका गोठमा अहिले १३ गाई छन् । ती मध्ये १० ठूला र तीन वटा साना छन् । त्योमध्ये पनि चार दुहुनु र तीन ब्याउने गाई छन् । उहाँले दुई जर्सी र ११ होलिस्टिन क्रस गाई पाल्नुभएको छ । गाईपालनका लागि उन्नत जातका घाँससमेत उहाँले लगाउनुभएको छ ।

एउटा गाईले औषतमा दैनिक १५ लिटरभन्दा बढी दूध दिने उहाँ बताउनुहुन्छ । सबै गाईको दैनिक ६० लिटरभन्दा बढी दूध उत्पादन गर्ने उहाँले दैनिक ३० लिटरजति स्थानीय बजारमा खपत गर्ने र बाँकी ३० लिटर तम्घास पठाउनुहुन्छ । स्थानीय बजारमा प्रतिलिटर रु ७० मा बिक्री हुने दूध तम्घास पठाउँदा प्रतिलिटर ५४ रुपैयाँ पर्छ । “मासिक डेढदेखि दुई लाखसम्मको कारोबार हुन्छ, यसमा खर्च कटाउँदा पनि ४० हजार बचत हुन्छ”, उहाँले भन्नुभयो, “विदेशमा भन्दा कम बचत भए पनि सन्तुष्टि बढी छ ।” विदेशमा कमाएको रकम स्वदेशमा लगानी गर्नुभएका उहाँले व्यवसायमा सन्तुष्टि मिलेको बताउनुभयो ।

व्यावसायिक गाईपालन गरेबापत गाउँपालिकाले प्रदान गर्ने उत्पादनमा आधारित अनुदान प्रतिलिटर रु तीनका दरले प्राप्त गर्नुहुन्छ । त्यस्तै ०७५÷७६ मा कृषि, पशुपक्षी तथा मक्ष विकास निर्देशनालयबाट रु चार लाख प्राप्त गर्नुभयो । सोही ठाउँकै ४० वर्षीया कमल पोखरेलले पनि १८ वर्ष रोजगारीकै लागि विदेशमा कटाउनुभयो । १८ वर्षको हुँदा भारत जानुभएका उहाँ दुवै पनि पुग्नुभयो । त्यहाँ उहाँले खाना बनाउने र सफा गर्ने काम गर्नुहुन्थ्र्यो । विदेशमा मासिक रु ८० कमाउने पोखरेलको रु ६० हजार बचत हुन्थ्यो । दुई वर्षअघि गाउँ आउनुभएका पोखरेलले गाउँमै भविष्य खोज्नुभयो र गाईपालन व्यवसाय सुरु गर्नुभयो । करिब पाँच लाखको लागतमा १८ वटा गाई अट्ने संरचना बनाउनुभयो ।

यसपछि वसन्त पशु फार्म खोलेर छ ठूला गाई किनेर व्यवसाय सुरु गर्नुभएका व्यवसायी पोखरेलसँग अहिले सात ठूला गाई एवं तीन साना बाच्छा छन् । ती मध्ये पनि दुई दुहुने र पाँच ब्याउने छन् । अहिले दैनिक २० लिटर दूध उत्पादन भएको र सबै व्याउँदा ८० लिटरसम्म दुध उत्पादन हुने उहाँको भनाइ छ । अहिलेसम्म दैनिक ५५ लिटरसम्म दूध बिक्री गरेको र भविष्यमा दैनिक १०० लिटरसम्म दूध बिक्री गर्नेगरी योजना बनाएको उहाँले सुनाउनुभयो । गाईपालनबाट वार्षिक रु २४ लाखको कारोबार हुने कमलको भनाइ छ । “सबै जग्गा आफ्नै भएकाले व्यवसायमा सहजता मिल्यो”, उहाँले भन्नुभयो, “विदेशको भिसा त्यागेर गाईपालनमा लागेको हुँ, सोचेभन्दा बढी सन्तुष्टि मिलेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर