हेलिकप्टरमा अन्यत्र जानेभन्दा नजिकका अस्पतालमा बसेर आत्मविश्वासले निको हुने धेरै — OSNepal

हेलिकप्टरमा अन्यत्र जानेभन्दा नजिकका अस्पतालमा बसेर आत्मविश्वासले निको हुने धेरै

LC (KTM) May 30, 2021 0

बलेवा, १६ जेठ- एक सातादेखि बागलुङमा हेलिकप्टर आएको छैन । वैशाख अन्तिम साता र जेठ पहिलो साता भने दैनिकजसो हेलिकप्टर आएर कोरोना र अन्य शङ्कास्पद बिरामी पोखरा तथा काठमाडाँै लैजाने गरेको थियो ।हेलिकप्टरका लागि स्थानीयवासीले रु चार लाखसम्म खर्च पनि गरे । बागलुङ अस्पतालमा उपचारपछि निको हुन्छ भन्ने विश्वास नभएपछि उनीहरुले शहरी क्षेत्रमा लगेका हुन् । हेलिकप्टरमा पठाइएका बिरामी अधिकांश फर्कन सकेका छैनन् । कतिपयको उतै निधन भयो । कतिपय अझै निको भएका छैनन् ।

कोरोना सङ्क्रमणले देश आक्रान्त पारेका बेला राम्रो उपचार खोज्दै हिँड्दा कतिपयले बाटैमा ज्यान गुमाएका छन् । बरु नजिकका अस्पतालमा बसेर उपचार गरेका फर्कन सफल छन् । “हाइफ्लो अक्सिजन र भेन्टिलेटरका सेवा खोज्दै सहर पसे पनि राम्रो उपचार अहिले देशैभरि छैन”, धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र पोखरेलले भन्नुभयो, “दक्ष चिकित्सक आफैँ खटिएर सेवा दिएमा अन्यत्र गइरहनु पर्दैन ।”

अस्पतालमा अहिले पनि कन्सल्ट्यान्ट डाक्टर नै कोरोना उपचारमा नियमित खटिएका छन् । आइसोलेशनमा दक्ष नर्स र स्वास्थ्यकर्मी पनि निरन्तर लागेकाले निको हुनेक्रम पनि यहाँ बढी छ । जिल्ला स्वास्थ्य कार्यालयका कोभिड स्थानीय स्रोत व्यक्ति देवप्रकाश घिमिरेका अनुसार सङ्क्रमितले आत्मबल बलियो बनाउने, नियमित खाना खाने हो भने धेरै निको हुन्छन् । परिवार र स्वास्थ्यकर्मीको साथ भएका छिट्टै निको भएर फर्केको उहाँले बताउनुभयो ।

“काठमाडौँमा भर्ना नपाएका बागलुङ आएर निको भएका छन्, शहरी क्षेत्र मात्र भनेर हुँदैन”, घिमिरेले भन्नुभयो, “सामान्य अवस्थामा शहरी क्षेत्रका अस्पताल राम्रो होलान, महामारीमा शहरी क्षेत्रमा चासो कम हुन्छ ।” ठूला अस्पतालमा एक दुई जनाको मृ त्यु हुनुलाई सामान्य मानिने तर जिल्ला तहमा मृत्यु नहोस् भनेर काम भएको उहाँले बताउनुभयो । बडीगाड गाउँपालिका र बागलुङ बजार नजिकका बिरामी धेरै हेलिकप्टरबाट पोखरा र काठमाडौँ गएका छन् । तीमध्ये धेरैले ज्या न गुमाइ सकेका छन् । पोखरा काठमाडौँ पु¥याइएपछि मृत्यु भएकाको परिवारले शव व्यवस्थापनसमेत गर्न पाएका छैनन् । सदरमुकामकै बागलुङ नगरपालिका– ४ का दुई जनाले पनि हेलिकप्टरमा गएर फर्कन सकेनन् । जिल्लामा कति जनाले हेलिकप्टरमा उपचार खोज्दै शहर पसे भन्ने तथ्याङ्क भने कसैले राखेका छैनन् ।

अहिले कोरोना सङ्क्रमितलाई होम आइसोलेशनमा बस्न पाउने मापदण्ड बनाइएको छ । घरमा बसेकै कारण धेरैलाई छिट्टै निकोसमेत भएको छ । घरमा बस्नेले जटिल समस्या आउञ्जेल अस्पताल नजाने प्रवृत्तिले मृ त्युका घटना बढेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौँले बताउनुभयो । “घरमा बस्न भनिएको हो, तर समस्या आएकाले छिट्टै अस्पताल वा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ”, उहाँले भन्नुभयो, “समयमा उपचारमा नआएका कारण कतिपयको ज्यान गएको छ ।”

आर्थिकरुपमा सम्पन्न भएकाले पनि ढिला उपचारमा निस्केर ज्यान गुमाएका छन् । हेलिकप्टरमा लाखौँ खर्चन सक्नेले समयमा अस्पताल पुग्ने चाहना नराख्दा मृत्युवरण गर्नुपरेको मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र पोखरेलको भनाइ छ । “अस्पताल आइसकेपछि उपचार नभएको हैन, भुइँमै राखेर भए पनि अक्सिजनको व्यवस्थापन गरेका छौँ”, उहाँले भन्नुभयो, “समस्या आउन लाग्दा वास्ता नगरेर अन्तिम परेपछि सोझै पोखरा हानिन खोज्दा धेरैको मृत्यु भएको छ ।”

काठमाडाँैमा अक्सिजनसहितको श्यया नपाएर रातारात बागलुङ आइपुगेकी एक महिला भने निको भएर घर फर्किनुभएको छ । ढोरपाटन नगरपालिका– ३ की ३५ वर्षकी महिला धौलागिरि अस्पताल आइपुगेको साताभित्रै निको भएर घर फर्किनुभएको हो । उहाँको काखमा ११ महीनाका बालक छन् । बालक भएकाले कुरुवा बस्ने श्यया पाउन नसकेपछि काठमाडौँबाट रु ५० हजार खर्चेर ती महिला बागलुङ आउनुभएको थियो । यहाँ आएपछि उहाँको परिवारका सदस्यले स्याहार गरे । उहाँको आत्मबल पनि बलियो भएपछि छिट्टै कोरोना जित्नुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर