२४४ वर्षअघि निर्माण भएको गणेश मन्दिरमा विशेष पूजाआराधना गरियो — OSNepal

२४४ वर्षअघि निर्माण भएको गणेश मन्दिरमा विशेष पूजाआराधना गरियो

LC (KTM) February 08, 2022 0

काठमाडौँ-ऐतिहासिक तिलङ्गा घरको गणेश चोकमा अवस्थित गणेश मन्दिरमा विशेष पूजाआराधना गरिएको छ । तत्कालीन सेनापति काजी अभिमानसिंह बस्न्यातले २४४ वर्षअघि सो मन्दिर निर्माण गर्नुभएको जनाइएको छ ।

काजी बस्न्यातका सन्ततिले स्थापना गरेको संस्था श्रीपाली बस्न्यात समाजको आयोजनामा केही वर्षअघिदेखि ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक महत्वको गणेश मन्दिरमा प्रत्येक वर्ष माघ महिनाको अन्तिम मङ्गलबार विशेष पूजा आराधना गर्न थालिएको हो । 

विसं १८३१ मा सेनापति बस्न्यातले पल्टन घरका रुपमा तिलङ्गा घरको निर्माण गर्नुभएको वरिष्ठ पत्रकार श्रीरामसिंह बस्न्यात बताउनुहुन्छ । सात चोकमा निर्माण भएको तिलङ्गा घरको प्रत्येक चोकमा फरक फरकदेवी देवताको मूर्ति स्थापना गरिएको छ । त्यसमध्येको गणेश चोकमा रहेको गणेश मूर्तिमा माघ महिनाको अन्तिम मङ्गलबार पारेर पूजा आराधना गर्ने गरिएको हो । विसं १८२५ मा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभएपछि उहाँका भारदार नजिकै बस्ने क्रममा अभिमानसिंह बस्न्यातलाई असनको यो जग्गा दिइएको हो ।

नेपाली सेनाको ब्यारेकका रुपमा बसेको पहिलो घरका रुपमा समेत तिलङ्गा घरको ऐतिहासिक महत्व रहेको छ । अभिमानसिंह बस्न्यातले बनाउनुभएको त्यो ऐतिहासिक भवनको बैठक कोठा काष्ठ कलाले युक्त छ । १०० वर्ष नाघेका यस्ता स्थलको संरक्षणमा पुरातत्व विभागले काम गर्नुपर्ने भए पनि वास्ता नगरेको समाजका सदस्यको गुनासो छ ।
विभागले मात्र नभइ यो ऐतिहासिक स्थललाई स्थानीय सरकार काठमाडौँ महानगरपालिकाले समेत ध्यान पु¥याउन सकेको छैन । यहाँ बनेको गणेश मन्दिर आधुनिक कालमा बनेकामध्येमा पुरानो मन्दिर भए पनि विभाग, महानगरपालिकालगायत सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर