बागलुङमा कोरोना सङ्क्रमणसँगै घट्यो प्रतिबन्ध, शैक्षिक संस्था फागुन १ गतेदेखि खुल्ने — OSNepal

बागलुङमा कोरोना सङ्क्रमणसँगै घट्यो प्रतिबन्ध, शैक्षिक संस्था फागुन १ गतेदेखि खुल्ने

LC (KTM) February 09, 2022 0

बागलुङ, २६ माघ- कोभिड–१९ सङ्क्रमणको जोखिमले महिना दिनदेखि बन्द रहेका यहाँका शैक्षिक संस्था आउँदो फागुन १ गतेदेखि खुल्ने भएका छन् । जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनस्वास्थ्य मापदण्ड पालना गरी विद्यालय, क्याम्पस, ट्युसन केन्द्रलगायत सबैखाले शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको हो ।सोही निर्णय र सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले फागनु १ गतेदेखि शैक्षिक संस्था सञ्चालन गर्न पाइने गरी आज आदेश जारी गरेको छ । बाह्र वर्षमुनिका बालबालिकाले पढ्ने कक्षा सञ्चालन गर्दा भने आलापालो प्रणाली अपनाउन भनिएको छ । त्यो उमेर समूहका बालबालिकाले कोभिड–१९ विरुद्धको खोप पाएका छैनन् ।

विद्यार्थी सङ्ख्या हेरेर सम्बन्धित स्थानीय तहको समन्वयमा विद्यालयले आलोपालो गरी कक्षा सञ्चालन गर्नसक्ने जनाइएको छ । सबै तहका रोकिएका परीक्षा पनि जनस्वास्थ्य मापदण्ड अपनाई सोही मितिदेखि गर्न सकिने आदेशमा उल्लेख छ । केन्द्रले कोभिड–१९ को घट्दो जोखिमलाई दृष्टिगत गरी यसअघि लगाइएका प्रतिबन्धलाई पनि केही खुकुलो पारेको छ ।

अबदेखि चलचित्र घर, जिमखाना, फुटसल आदि पनि राति १० बजेसम्म खोल्न पाइने भएको छ । होटल, रेष्टुराँलगायतका व्यापार, व्यवसाय पनि जनस्वास्थ्य मापदण्ड पालना गरी निर्वाधरूपमा सञ्चालन हुने भएका छन् । यसअघि किनमेल केन्द्रमा एकपटकमा २५ जनाभन्दा बढी छिर्न नपाइनेमा अहिले त्यो सङ्ख्या बढाएर ५० पु¥याइएको छ ।

पार्टी प्यालेस पनि आधा क्षमतामा सञ्चालन गर्न पाइने गरी प्रावधान खुकुलो पारिएको छ । पहिले विवाह, व्रतबन्धलगायत धार्मिक तथा सांस्कृतिक अनुष्ठानमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने नियम थियो । अब जनस्वास्थ्य मापदण्ड पालना गरी १०० जनासम्म भेला हुन पाउनेछन् ।धार्मिकस्थलमा नित्य पूजाआजा मात्र गर्न पाइने पुरानो प्रावधान हटाएर एकपटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजापाठ, ध्यान आदि गर्न पाइने नयाँ प्रबन्ध गरिएको छ । यस्तै सार्वजनिक सेवा लिनका लागि साथमा खोप कार्ड लिएर हिँड्न केन्द्रले जनसाधारणमा आग्रह गरेको छ ।

आमसभा, जुलुस, मेला, महोत्सव जस्ता धेरै मानिसको भीडभाड हुने क्रियाकलापमा भने प्रतिबन्ध कायमै छ । पछिल्ला दिनमा कोरोना सङ्क्रमणको दर ओरालो लागेपछि यसअघि तोकिएका मापदण्ड खुकुलो पारिएको हो ।जिल्ला स्वास्थ्य कार्यालयको आँकडाअनुसार हाल यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या जम्मा १८७ छ । जबकि केही साताअघि त्यो सङ्ख्या ५०० माथि पुगेको थियो । आज छ जना सङ्क्रमित थपिए भने ४५ जना कोरोनामुक्त भए । सङ्क्रमितको सङ्ख्या दैनिक घटिरहेको कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर