प्रदेश स्थापनाको चार वर्षः अस्पताल र सडकमा देखियो सरकार — OSNepal

प्रदेश स्थापनाको चार वर्षः अस्पताल र सडकमा देखियो सरकार

LC (KTM) February 16, 2022 0

बलेवा, ४ फागुन- गण्डकी प्रदेश सरकार स्थापना भएको आज चार वर्ष पूरा भएको छ ।सरकारले आफ्नो काम थालेको चार वर्षमा गण्डकीको कर्णाली भनेर चिनिने बागलुङमा पनि केही कामहरु भएका छन् । प्रदेश सरकार स्थापनाको केही समयमै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण सरकार सबैभन्दा धेरै स्वास्थ्य क्षेत्रमा केन्द्रित रह्यो ।

साबिकको धौलागिरि अञ्चलको मुकाम बागलुङ बजारमा रहेको धौलागिरि अस्पतालको कुशल व्यवस्थापन र कोरोना महामारीका बेला अस्पतालले निभाएको भूमिका प्रदेश सरकारको देखिने महत्वपूर्ण काम हो । उप–प्रादेशिक अस्पतालका रुपमा विकास भइरहेको धौलागिरि अस्पतालमा पूर्वाधार र जनशक्तिको व्यवस्थापनमा प्रदेश सरकारले महत्वपूर्ण भूमिका निर्वाह ग¥यो ।

तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बागलुङकी पहिलो र दोस्रो तथा नेपालकै पाँचौँ र छैटौँ कोरोना सङ्क्रमितलाई अस्पतालमै पुगेर भेट्नुभयो । लामो समय अलपत्र रहेको अस्पतालको ‘बी’ ब्लकको हस्तान्तरण र प्रयोग, कोरोना भाइरस सङ्क्रमण जाँच प्रयोगशाला स्थापना, सघन उपचार कक्ष, लिफ्ट स्थापना, बगैँचा, पानी, फोहोरको व्यवस्थापन र अन्य भौतिक संरचनामा भएको सुधार धौलागिरि अस्पतालमा प्रदेश सरकारले गरेको देखिने काम हो ।

सडक पूर्वाधारमा पनि बागलुङमा प्रदेश सरकार देखिएको छ । २०५४ सालमा ट्र्याक खुलेको, पटक–पटक स्तरोन्नति भएर पनि कालोपत्र हुन नसकेको बागलुङ कुश्मीशेरा सडकको कालोपत्र गर्न प्रदेश सरकारको भूमिका महत्वपूर्ण रह्यो । उक्त सडकको पाग्जादेखि सरङ्गेसम्मको १० किलोमिटर खण्ड यो चार वर्षको बीचमा कालोपत्र भएको छ । जिल्लाको दक्षिण क्षेत्रलाई जोड्ने यो सडक कालोपत्र हुँदा बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका तथा यो सडक हुँदै गुल्मी र पर्वतको दक्षिण जाने यात्रुका लागि सहज भएको छ । २४ वर्षसम्म जस्ताको त्यस्तै रहेको यो सडकमा भएको कालोपत्रले प्रदेश सरकारको काम मात्रै देखाएको छैन, यहाँका राजनीतिक दल, नेता र सरोकारवालको नाक छोपिदिएको छ ।

रु २९ करोड लगानी भएको यो सडकखण्ड कालोपत्र हुँदा बागलुङ कुश्मीशेरा २१ किलोमिटर खण्डमा अब सहजै यात्रा हुन्छ । बाँकी सडक सडक विभाग, प्रदेशको निर्वाचन क्षेत्र विकास कार्यक्रम र सङ्घीय निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट कालोपत्र भएको छ । बाँकी रहेको एक किलोमिटर सडक पनि प्रदेश सरकारले कालोपत्र गर्ने आशा सर्वसाधारणमा छ ।

बागलुङ नगरपालिका–४ कुँडुले फेदीदेखि काठेखोला गाउँपालिका–३ धम्जा जोड्ने सडकको ट्र्याक खुलेको छ । जिल्लामा महत्वपूर्ण मार्गको रुपमा लिइएको यो सडक बनाउँदा प्रदेश सरकारले रु ४१ करोड खर्चेको छ । यो सडकले चार वर्षमा प्रदेश सरकारले गरेका कामको प्रतिनिधित्व गर्छ । अन्य केही महत्वपूर्ण र जनताका लागि उपयोगी सडक तथा सडक पुलहरु पनि प्रदेश सरकारले निर्माण गरेको छ ।

पर्यटनको क्षेत्रमा शालग्राम सङ्ग्रहालय प्रदेश सरकारको देखिने काम हो । बागलुङ नगरपालिका–४ कुँडुले फेदीमा निर्माण भएको भूमिगत सङ्ग्रहालयमा प्रदेश सरकारले विभिन्न चरणमा रु तीन करोडभन्दा बढी बजेट खर्चेको छ । धार्मिक, पौराणिक र प्रकृतिको संरक्षण गर्नका लागि निर्माण भएको सङ्ग्रहालय नयाँ पर्यटकीय गन्तव्य बनेको छ ।

त्यस्तै मुख्यमन्त्री कृषि नमूना गाउँ कार्यक्रमबाट किसानले गरेको आम्दानी र सफलताका कथा प्रदेश सरकारका देखिने काम हुन् । कृषि ज्ञान केन्द्रमार्फत निर्माण भएका शीतभण्डार, आलु सुन्तलाको भण्डारणमा सहयोग, परम्परागत बालीहरुको संरक्षणमा सक्रियता र आधुनिक खेती प्रणालीमा किसानलाई रुपान्तरित गर्ने कामसमेत प्रदेश सरकार गठनपछि भएका छन् । कृषिमा आधुनिकीकरण, शिक्षामा सहजीकरण र स्वास्थ्यमा साझेदारी तथा पूर्वाधारमा लगानी भइरहेको छ ।

आधारभूत तहको खानेपानीको पहुँच विस्तार, विद्युतीकरण र पशुपालनका क्षेत्रमा भइरहेका कामहरुमा समेत प्रदेश सरकारको उपस्थिति देखिने गरेको छ । विपत्को व्यवस्थापन र राहत तथा उद्धारमा सरकार देखिने गरी उपस्थित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर