स्याउका ४९ हजार बिरुवा निर्यात गर्दै जुम्ला — OSNepal

स्याउका ४९ हजार बिरुवा निर्यात गर्दै जुम्ला

LC (KTM) February 21, 2022 0

जुम्ला, ९ फागुन-जुम्लामा उत्पादन गरिएका स्याउका बिरुवा बाहिरी जिल्लामा निर्यात हुन थालेका छन् । चन्दननाथ नगरपालिका-८का हरिबहादुर रोकायाले २४ हजार वटा बिरुवा बेचेका छन् । उनले ११ हजार बिरुवा हुम्लाको लागि र १३ हजार बिरुवा बाजुराको लागि बेचेका हुन् ।

सिर्जनशील फलफूल नर्सरी चलाउँदै आएका उनले भने, ‘हुम्लाको सिमिकोटको लागि माग आएको थियो । त्यही मागको आधारमा यस पटक ११ हजार बिरुवा पठाएँ । मेरो नर्सरीमा ४० देखि ५० हजारसम्मको बिरुवा छ ।’

उनले स्याउ नर्सरीबाट वार्षिक चार लाखसम्मको आम्दानी हुने गरेको छ । रोकायाकाे स्याउका बिरुवा गुणस्तरीय रहेकाे भन्दै विभिन्न ठाउँबाट माग आएको दाबी गर्छन् । जुम्लाबाट हवाइजहाजमार्फत स्याउका बिरुवा हुम्लामा पुर्‍याउने गरिएको छ ।

जुम्लाबाट नेपालगञ्ज र नेपालगञ्जबाट सिमकोट हवाइ मार्गबाट बिरुवा हुम्ला जाने गरेको रोकायाले बताए । उनले भने, ‘स्याउका प्रतिबिरुवा ७७ रुपैयाँसम्म पर्ने गरेको छ ।’ रेड, रोयल डेलिसियस, गोल्डेन र जनार्थन जातका स्याउका बिरुवा बेच्ने गरेको रोकाले बताए । ।

४९ हजार बिरुवा निर्यात

जुम्लाको स्याउका बिरुवा बझाङ, बाजुरा, दैलेख, अछामा ,अर्घाखाँची, हुम्ला, कलीकोट र जाजरकोटसम्म निर्यात हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । जुम्लाबाट बाहिर जिल्ला निर्यात गर्दा कुनै समस्या नहोस् भन्नका लागि कृषि विकास कार्यालयले सिफारिस दिने गरेको बागवानी शाखाका प्रमुख सुष्मा बुढाले बताइन् । बुढाका अनुसार यस वर्ष मात्र ४९ हजार स्याउ र ओखरका बिरुवा जुम्लाबाट निर्यात भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर