अचेत अवस्थामा बाटोमा भेटिएको चितुवाको उपचार हुँदै — OSNepal

अचेत अवस्थामा बाटोमा भेटिएको चितुवाको उपचार हुँदै

LC (KTM) February 22, 2022 0

बागलुङ, १० फागुन- बागलुङ नगरपालिका–३ पाखाथरबाट बिरामी अवस्थामा शनिबार उद्धार गरिएको चितुवालाई औषधोपचारसहित हेरचाहमा राखिएको छ ।
अन्दाजी डेढ वर्षको उक्त चितुवा सिकिस्त भई डिभिजन वन कार्यालयको खोरमा लडिरहेको छ । सहायक वन अधिकृत मदन कँडेलले चितुवाको स्वास्थ्य स्थिति सुरुको तुलनामा सुधार हुँदै गएको बताउनुभयो । पशु चिकित्सक प्रियङ्का भण्डारीसहितको प्राविधिक टोलीले सोमबार चितुवाको प्राथमिक उपचार गरेका थिए । “उपचारले निको हुन्छ कि आशा छ हेरौँ, हाम्रो प्रयास अन्तिमसम्म बचाउनेमा हुन्छ,” उहाँले भन्नुभयो ।

शरीरमा कुनै ठूलो चोट नदेखिए पनि चितुवाको घाँटीदेखि माथिको भाग चलेको छैन । जसले गर्दा चितुवाले केही खान सकेको छैन । औषधि पनि सुईबाट दिइएको छ । सोमबारदेखि बल्लतल्ल पानीसम्म खान थालेको जनाइएको छ ।

चितुवाको टाउँकोमा मानिसले कुनै वस्तुले हिर्काएको या कतै खोरमा च्यापिएको हुनसक्ने चिकित्सकको अनुमान छ । बिरामी भई अचेत अवस्थामा बाटोमा भेटिएपछि स्थानीयवासीले उद्धारका लागि कार्यालयलाई खबर गरेका थिए । उपचारले निको भएमा चितुवा आफ्नै बासस्थानमा फर्कनेछ । आहाराको खोजीमा बस्तीतिर छिर्दा चितुवा र मानिसबीच द्वन्द्व बढ्ने गर्छ । घरपालुवा पशुपक्षीदेखि मानिसमाथि नै चितुवाले हिंस्रक व्यवहार देखाउने गर्छ । त्यसबाट जोगिन मानिसले चितुवालाई पनि निसाना बनाउँछन् ।त्यसको किसिमको अवस्था आउन नदिन वन्यजन्तु–मानवबीचको द्वन्द्व घटाउने उपायहरुको खोजी गर्नुपर्ने सहायक वन अधिकृत कँडेलले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर