कुश्मामा सबै वडाका कच्ची सडक कालोपत्र र ग्राभेल गरिने — OSNepal

कुश्मामा सबै वडाका कच्ची सडक कालोपत्र र ग्राभेल गरिने

LC (KTM) February 26, 2022 0

पर्वत, १४ फागुनः पर्वतको कुश्मा नगरपालिकामा भौतिक पूर्वाधार विकास तथा आयआर्जनमूलक पूर्वाधार निर्माणको कार्यक्रम सुरु गरिने भएको छ । नगरपालिकाको आवश्यकताअनुसारको विभिन्न भौतिक पूर्वाधार निर्माण गर्न तथा आयआर्जनसम्बन्धी पूर्वाधारमूलक कार्यक्रम सञ्चालनका लागि सघन सहरी विकास तथा भवन निर्माण विभागसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो । सघन सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनाली र कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीबीच कार्यविधिमा शुक्रबार हस्ताक्षर भएको छ ।

नगरप्रमुख जोशीले कुश्मा नगरपालिकाभित्रका सबै वडाका कच्ची सडक कालोपत्र र ग्राभेल गर्ने योजना रहेको बताउनुभयो । यस्तै नाली निर्माणदेखि आयआर्जनमूलक उद्यम विकासमा पनि कार्यक्रमले सहयोग गर्ने उहाँले जानकारी दिनुभयो । सबै वडामा एउटा न एउटा योजना पर्ने गरी कार्यक्रम तर्जुमा गरिने जोशीले जानकारी दिनुभएको छ ।

केही योजना सङ्कलन भइसकेको र योजना सङ्कलनको काम भइरहेकाले नगरपालिकाले विस्तृत योजना बनाएपछि योजनाको विस्तृत अध्ययन हुने र तत्पश्चात् कामको सुरुआत हुने नगरप्रमुख जोशीले बताउनुभयो । नगरउपप्रमुख सीता काफ्ले लामिछानेले सहरोन्मुख कुश्मामा आवश्यकताका आधारमा योजना छनोट गरी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । आफूहरु निर्वाचित भएपछि नगरपालिकाको समग्र विकासमा ध्यान दिँदादिँदै बजेटको अभावमा कतिपय योजना अधुरा रहेको अवस्थामा यो कार्यक्रमले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्ने उल्लेख गर्नुभएको थियो ।

कुश्मा नगरपालिकामा उक्त कार्यक्रम सञ्चालनका लागि रु ५० करोड बराबरको आर्थिक सहयोग प्राप्त हुने भएको छ । चालु वर्ष योजना सुरु भए पनि अधिकांश योजना बहुवर्षे कार्यक्रममा समावेश हुने जनाइएको छ । कार्यक्रम कसरी अघि बढाउने भन्नेबारे शुक्रबार नगरपालिकामा छलफल भएको थियो ।

यसैबीच कुश्मामा बसपार्क निर्माणका लागि सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय बागलुङमार्फत योजना अगाडि बढाउन नगरपालिकाले सिफारिस गरेको छ । सिटीहलसहितको बसपार्क निर्माण गर्ने गुरुयोजना भए पनि चालु वर्ष रु १० करोड मात्र बजेट प्राप्त भएकाले उक्त बजेटमार्फत कामको सुरुआत गर्न कार्यालयलाई नगरपालिकाले सिफारिस गरेको हो ।

सिटीहलसहित बसपार्क निर्माण गर्न रु ७५ करोड बराबरको विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको छ । बहुवर्षे योजनामा समावेश भएको सिटीहलसहित बसपार्क निर्माण गर्ने भन्दै कुश्मा नगरपालिकाले गौरवको योजनाको रुपमा अगाडि सारेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर