गलेश्वरका ग्रामीण वस्तीमा विकासको रौनक, घर–आँगनमै गाडी, विद्यालय र स्वास्थ्यचौकी — OSNepal

गलेश्वरका ग्रामीण वस्तीमा विकासको रौनक, घर–आँगनमै गाडी, विद्यालय र स्वास्थ्यचौकी

LC (KTM) February 27, 2022 0

गलेश्वर, १५ फागुन : सडक, सञ्चार, शिक्षा र स्वास्थ्यको पहुँचसँगै म्याग्दीका दुर्गम ग्रामीण वस्तीमा पछिल्लो समय रौनक छाएको छ । सहजरूपमा आफ्नै गाउँघरमै ती सुविधा प्राप्त हुँदै गएपछि गाउँलेको जीवनस्तरमा समेत परिवर्तन आएको छ । विकासले केवल सुविधामात्रै होइन, वर्षौँदेखि ओझेलमा परेका गाउँवस्तीलाई उजिल्याइदिएको छ भने जीवन जिउने नयाँ–नयाँ आधारसमेत पहिल्याइदिएको स्थानीयवासीले बताएका छन् ।

घर–आँगनमै गाडी, नजिकै विद्यालय, वडा कार्यालयसँगै स्वास्थ्यचौकी, घरघरमा झलमल्ल बिजुली, आफन्तको सञ्चोबिसञ्चो बुझ्न र कुराकानी गर्न हातहातमा मोबाइल, खेतबारीबाट अन्नपात र घाँस–पराल बोकेर घरगोठमा पुग्ने ट्र्याक्टर, मोटरसाइकल जिल्लाका गाउँवस्तीमा अहिले जताततै देख्न पाइन्छ । चार–पाँच वर्षअघिसम्म दुर्गम मानिएका गाउँमा पछिल्लो समय विकासको लहर चलेको छ । यातायातको पहुँचसँगै विकासको परिभाषालाई बुझ्न थालेका म्याग्दीका ग्रामीण भेगका बासिन्दा सडक, शिक्षा, स्वास्थ्य र सञ्चारको सुविधा पनि गाउँमा नै पाएपछि दङ्ग परेका छन् । म्याग्देली ग्रामीण जनताको जीवनशैलीमा नै परिवर्तन देखिएको छ ।

स्थानीय तह हुनुभन्दा अगाडि दुर्गम क्षेत्र भएकै कारण कसैको नजर नपर्ने म्याग्दीका मुना, कुइने, ठाडाखानी, रुमलगायतका गाउँमा सडक सञ्जाल जोडिएको छ । विकासको महत्वपूर्ण आधारमध्येको एक सडक भएका कारण आफूहरुले प्राथमिकताका साथ योजना छनोट गरेर सबै वडामा सडक पु¥याइएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । जिल्लाका छवटा स्थनीय तहमध्ये धवलागिरि गाउँपालिका–३ गुर्जामा मात्रै सडक सञ्जालको पहुँच पुगेको छैन । गुर्जामा सडक विस्तारका लागि पनि स्थानीय तह र प्रदेश सरकारबाट काम भइरहेको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो ।

स्थानीय तह गठन भइसकेपछि गाउँ–गाउँमा सडक आएकाले जिल्ला सदरमुकाम बेनीबजार पुग्न तीन दिन लाग्ने ठाउँबाट अहिले दिनमा जाउआउ गर्न सकिने भएको कुइनेमङ्गलेका हरि छन्त्यालले बताउनुभयो । “सडकले गाउँको स्वरुप नै परिवर्तन गरिदिएको छ, विकासका पूर्वाधारसँगै मानिसको चेतनास्तरमा पनि सुधार आएको छ”, रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका वडासदस्य टेकजीत छन्त्यालले भन्नुभयो । शिक्षा क्षेत्रमा पछि परेको ठाडाखानीलाई प्राथमिकता दिएर चुहिने विद्यालयलाई पक्की विद्यालयका रूपमा स्तरोन्नति गर्दै आएको छन्त्यालको भनाइ छ ।

दिनभर हिँडेर पाखापानीसम्म पुगेर उपभोग्य सामानको जोहो गर्नुपथ्र्यो । गाउँमा कोही बिरामी पर्दा भरिया लगाएर डोकोमा बोकेर उपचार गर्न बेनी पु¥याउनुपर्ने बाध्यता हुन्थ्यो, अहिले वडा–वडामा स्वास्थ्य सेवाको सहज पहुँच पुगेकाले सहज भएको स्थानीयवासी हिमाली छन्त्यालले बताउनुभयो । विकाससँगै सचेतनामूलक कार्यक्रममार्फत बालविवाह रोकथाममा पनि सहयोग पुगेको स्थानीयवासीको भनाइ छ ।

अहिले जिल्लाका छवटै स्थानीय तहका वडामा रहेका विद्यालयको भौतिक संरचना निर्माण तीव्ररुपमा भइरहेको छ । स्वास्थ्यचौकीमा चिकित्सक र औषधिको पहुँच छ । सञ्चारको पहुँच नपुगेको कुनै वडा नै छैन । सामान्य बिरामी पर्दासमेत सदरमुकाम वा काठमाडौँ पोखरा पुग्नुपर्ने बाध्यता हट्दै गएको स्थानीयवासीले बताएका छन् । गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरिरहेको लगानीका कारण त्यहाँका नागरिकलाई निकै सहज भएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।

कहिल्यै मोटर गाडी नदेखेका वृद्धवृद्धा पनि गाउँघरमा सरर्र… गाडी गुड्दा दङ्ग छन् । हप्तौँ लगाएर नुन, चामल बोकेर उपभोग गर्ने गरेको बूढापाका अहिले गाउँमै सबै सुविधा पाउँदा हर्षित बनेका रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । स्थानीय टेकबहादुर छन्त्याल भन्नुहुन्छ, “पहिले हाम्रो जमानामा यस्तो सुविस्ता थिएन, हामी नुन, चामल लिनका लागि खसौली बटौली पुग्ने गथ्र्यौँ, अहिले त घरघरमै दोकान छन्, उतिबेलाको जस्तो दुःख छैन अहिले ।”

रत्नेचौरमा धार्मिक महोत्सव – समथर फाँटमा पहेँलै फुलेको तोरी, खेतको फाँटमा पक्की सडक र उत्तरतर्फ देखिने सेताम्यै हिमालका कारण भाइरल बनेको जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरमा धार्मिक महोत्सव हुने भएको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना रहेको रत्नेचौरमा अवस्थित श्रीलक्ष्मी हरि मन्दिरमा फागुन २३ देखि ३० गतेसम्म महोत्सवको आयोजना गर्न लागिएको मन्दिरका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक नेत्रबहादुर महतले बताउनुभयो ।

महाज्ञयको अवसरमा विभिन्न जिल्लामा रहेका धार्मिकस्थलबाट समेत भक्तजनको आगमन हुने जनाइएको छ । धार्मिक महोत्सवका प्रचारप्रसार तथा आवश्यक तयारीका लागि १५१ सदस्यीय समितिसमेत बनाइएको स्थानीय युवा विक्रम बोगटीले जानकारी दिनुभयो । महोत्सवमा छिमेकी जिल्लाका साथै विभिन्न क्षेत्रमा रहेका धार्मिक सङ्घसंस्थालाई सहभागिताका लागि अनुरोध गरिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर