आज थप ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि,दुई जनाको मृत्यु — OSNepal

आज थप ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि,दुई जनाको मृत्यु

LC (KTM) March 06, 2022 0

काठमाडौँ, २२ फागुन -मुलुकमा कोभिड–१९ को सङ्क्रमण क्रमशः कम हुँदै गएको छ । यद्यपि जोखिम भने यथावत् रहेको चिकित्सकहरूले बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार ९२९ जनाको परीक्षण गरिएकामा ६८ जनामा मात्र कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ५८३ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।

त्यसैगरी बितेका २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुईजनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९४७ पुगेको छ । हाल देशभर छ हजार ४६१ जना सक्रिय सङ्क्रमित रहेका र १०८ जना क्वारेन्टिनमा बसेका छन् ।

पछिल्ला २४ घण्टामा ८८ हजार ५६६ जनाले कोभिड–१९ विरुद्ध खोप लगाएका उक्त मन्त्रालयले बताएको छ । खोप अभियान सुरु भएयता तीन करोड ७७ लाख २१ हजार ८८६ मात्रा खोप गाइसकिएको छ भने एक करोड ८५ लाख २७ हजार १९० जनाले पहिलो मात्रा खोप लगाएका छन् । एक करोड ७८ लाख ७६ हजार २२३ जनाले खोपको पूर्ण मात्रा लगाइसकेका छन् । आजसम्ममा १३ लाख १८ हजार ४३७ जनाले खोपको अतिरिक्त मात्रा पनि लगाइसकेका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर