कृष्णनगर बजारको सडक दुई दशकपछि कालोपत्रे — OSNepal

कृष्णनगर बजारको सडक दुई दशकपछि कालोपत्रे

LC (KTM) March 17, 2022 0

कपिलवस्तु, ३ चैत- मर्मत सम्भार नहुँदा जीर्ण भएको कपिलवस्तुको सीमावर्ती कृष्णनगर बजारको सडक कालोपत्रे हुन सुरु भएको छ । कालोपत्रे भत्किएर जीर्ण भएको दुई दशक बढी समय बितेपछि बल्ल सडक निर्माण सुरु भएको हो ।

बजार क्षेत्रभित्र रहेको तीन मुख्य सडक लुम्बिनी प्रदेश सरकार र कृष्णनगर नगरपालिकाको लगानीले निर्माण हुन लागेको छ । वर्षौपछि राज्यले सडक निर्माणमा ध्यान दिएपछि कालोपत्रेको काम सुरु भएको कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाहले बताए ।

भारतीय रेल्वे स्टेसनबाट सबैभन्दा नजिक दूरी रहेको कृष्णनगर नाकाको सडकको अवस्था जीर्ण भएको कारणले यात्रुहरूले निकै सास्ती खेप्दै आएका थिए । वर्षायाममा सडकमै पानी भेल बग्ने समस्या रहेको थियो । हाल बजार क्षेत्र अन्तर्गत बैङ्क रोड, गल्ला मन्डी रोड, गोल घर सडक कालो पत्रे हुन लागेको छ । लुम्बिनी प्रदेश सरकारको ३ करोडको लगानीमा गोलघर सडक कालोपत्रे सुरु भएको छ ।

यसैगरी बाँकी २ खण्डमा नगरपालिकाले ८ करोड २० लाख बढी रकम खर्च गरेर कालोपत्रेको काम सुरु भएको नगरपालिकाका इन्जिनियर प्रदीप चौधरीले बताए । पालिकाको योजना अनुसार बजार क्षेत्रमा २ किलोमिटर २१७ मिटर कालोपत्रे हुनेछ ।कृष्णनगर बजार क्षेत्र भित्रको सबै सडक जीर्ण हुँदा स्थानीय र नेपाल भारत आवत जावत गर्ने नागरिकहरूले सास्ती खेप्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर