विज्ञहरू भन्छन्-सूचना प्रविधि क्षेत्रमा धेरै सम्भावना छन् — OSNepal

विज्ञहरू भन्छन्-सूचना प्रविधि क्षेत्रमा धेरै सम्भावना छन्

LC (KTM) May 03, 2024 0

काठमाडौँ- सूचना तथा प्रविधि क्षेत्रले विकासको प्रचूर सम्भावना बोकेकामा विज्ञहरु एकमत देखिएका छन् । सञ्चार तथा सूचना प्रविधि प्रयोगको तीव्र विकाससँगै प्रविधिमैत्री समाजको निर्माणले गति लिइरहँदा यसले रोजगारीका ढोका पनि खोलिरहेको उहाँहरूको भनाइ छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले कृषि, पर्यटनसँगै सूचना प्रविधि क्षेत्रले पनि विकासको प्रचूर सम्भावना बोकेको बताउनुभयो । उहाँले भन्नुभयो,“सूचना प्रविधिको क्षेत्र विशाल र सीमाविहीन छ । नेपालमै बसेर पनि विदेशमा काम गर्न सकिने सुविधासमेत भएकाले नेपालमा रहेका आइटी विज्ञ युवाले लाभ लिनसक्छन्”उहाँले भन्नुभयो । दत्तले अघिल्लो वर्षको एउटा अध्ययनले ६४ हजारले आइसिटी क्षेत्रमा काम गरिरहेको र नेपालमै बसेर डलर भित्र्याएका बताउनुभयो ।

मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरिएको छ । नेपालमा विसं २०२८ सालमा कम्प्युटर भित्रिएको थियो । पछि सन् १९९२ मा नेपालमा कम्प्युटर एशोसिएशन नेपाल (क्यान) को स्थापना थियो भने क्यान स्थापना भएको दिनलाई सूचना प्रविधि दिवसका रूपमा मनाउन थालेको हो ।

यो वर्ष ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नाराका साथ सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८१ मनाइयो । राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त कमला ओली थापाले वर्तमान विश्वलाई सूचना तथा प्रविधिले हाकेकाकाले यसको यसको महत्व दिनानुदिन बढ्दैगएको बताउनुभयो । “सूचनाविना न मान्छे न त राष्ट्रले नै विकास गर्न सक्छ । अहिले त मानिसको जीवन नै सूचना प्रविधिसँग जोडिएको छ । त्यसर्थ सूचनाको सहज पहुँच गराउन र सूचनामा पारदर्शिताको खाँचो छ”, उहाँले भन्नुभयो ।

तीव्र आर्थिक विकासमा सूचना प्रविधिको उपयोग अपरिहार्य रहेकोले सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ अगाडि बढाएर हरेक क्षेत्रलाई प्रविधिमैत्री बनाउने लक्ष्य लिएको छ । सो लक्ष्य हासिल गर्न युवा जनशक्तिको क्षमतामा अभिवृद्धि गन जरूरी रहेको मन्त्रालयका सहसचिव दत्तको भनाइ छ । उहाँ भन्नुहुन्छ,“सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित वर्षभरीको प्रगति, यस क्षेत्रमा देखिएका चुनौती र आगामी कार्यजनाको छलफल गर्न पनि यो दिवस मनाउछौँ । हाम्रो मुख्य लक्ष्य युवा केन्द्रित हुनुपर्छ र त्यसका लागि युवाको क्षमता अभिवृद्धिका कार्यक्रम आवश्यक छन् ।”

उहाँले यो क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षबाट ‘हाइ स्किल प्रोगाम’ ल्याउने र त्यसले सूचना प्रविधिको विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ । भर्खरै सम्पन्न तेस्रो लगानी सम्मेलनमा डाटा सेन्टर स्थापनाका लागि भारतीय कम्पनीसँग सम्झौता भइसकेको र सोसम्बन्धी काम अगाडि बढे थप सहजता हुने धेरैको विश्वास छ ।

सहसचिव दत्तले आइटी पार्क वा टेक्नो पार्कको अवधारणाबारे सोच निर्माण भइरहेको र वैदेशिक लगानीका माइक्रोसफ्ट, गुगलजस्ता कम्पनीलाई नेपाल भित्र्याउन नीति तथा कानुनमा सुधारका काम पनि सँगसँगै अगाडि बढाइने बताउनुभयो । युग सुहाउँदो पूर्वाधार र प्रतिस्पर्धी क्षमता विकासमा पनि सरकारले आवश्यक काम गर्ने उहाँको भनाइ छ । “हामीलाई हाइस्पिड इन्टरनेट, सबै ठाउँमा अप्टिकल फाइबर र सोहीअनुसारको ब्रोडब्याण्ड कनेक्टिीभिटी र सफ्टवेयरको विकास पनि जरूरी छ । सरकारले यस विषयमा पनि आवश्यक काम गर्छ”, उहाँले भन्नुभयो ।

विज्ञहरूले सूचना तथा सञ्चार प्रविधिलाई विश्वव्यापी रूपमा नै देश विकासको प्रमुख आधार मान्ने गरिएकाले नेपालले पनि यसलाई प्राथमिकतामा राखेर आवश्यक पूर्वाधार निर्माण र क्षमता विकासमा जोड दिनुपर्ने आवश्यकता औँलयाउनुभएको छ ।

मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले यस क्षेत्रमा सरकारले सुधारका प्रयास बढाउँदै लगिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“आइटी क्षेत्रमा सरकारले प्रयास गरिरहेको छ । हालसम्म धेरै राम्रा काम पनि भएका छन् । पेपरलेस एकीकृत कार्यालय व्यवस्थापन प्रणाली पनि विगत दुई वर्षदेखि सञ्चालनमा छ । यसले सेवाप्रवाहमा थप सहजताका लागि थपिएको छ । अरु क्षेत्रमा पनि सुधारका काम भइरहेका छन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर