सत्ता साझेदार दलबीच चुनावी तालमेल गर्ने सहमति — OSNepal

सत्ता साझेदार दलबीच चुनावी तालमेल गर्ने सहमति

LC (KTM) March 31, 2022 0

काठमाडौँ, १७ चैत-सत्ता साझेदार दलहरुले आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । सत्ता साझेदार दलका शीर्ष नेताहरुको आज बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलहरु मिलेर जाने निर्र्णय भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभयो ।

बैठकमा चुनावी तालमेलका लागि स्थानीयस्तरमा सत्ता साझेदार दलहरु सम्मिलित संयन्त्र बनाउनेसमेत सहमति भएको छ । नेपाली कांग्रेसको यही चैत १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताअनुरुप सत्ता गठबन्धनमा रहेका अन्य दलसँग चुनावी तालमेल गर्न सक्ने नीतिगत निर्णय गरेको थियो ।
शीर्ष नेताबीच सत्ता साझेदार दलको अर्काे बैठक यही चैत २१ गते बस्ने सहमति भएको छ ।

बैठकमा गठबन्धनका नेताहरुले प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवालाई आसन्न भारत भ्रमणको शुभकामना दिँदै द्विपक्षीय मुद्दाको सम्बोधनका लागि कूटनीतिक पहल गर्न समेत आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको सौहार्दपूर्ण निमन्त्रणामा यही चैत १८ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्र्दै हुनुहुन्छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र जनमोर्चाका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर