स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा गठबन्धन हुन्छ : नेता सिंह — OSNepal

स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा गठबन्धन हुन्छ : नेता सिंह

LC (KTM) April 01, 2022 0

काठमाडौँ, १८ चैत-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा गठबन्धन गरिने बताउनुभएको छ ।नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज बानेश्वरमा आयोजना गरेको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको क्षेत्रीय भेलामा बोल्दै उहाँले संविधानको रक्षाका लागि गठबन्धन जोगाउनुपर्ने बताउनुभयो । “गठबन्धन जनताले दिएको म्याण्डेड नभई परिस्थितीले सृजना गरेको हो, यसलाई जोगाउँदै स्थानीय तहको निर्वाचनसम्म जानु अहिलेको आवश्यकता हो, स्थानीय आवश्यकताअनुसार आगामी निर्वाचनमा गठबन्धन हुन्छ,” नेता सिंहले भन्नुभयो ।

पूर्वमहामन्त्री सिंहले पार्टीले गरेका निर्णयलाई सबैले मानेर अगाडि बढ्नुपर्ने धारणा राख्नुुभयो । पार्टीका नेताले पार्टीले गरेका निर्णयको विरुद्धमा बोल्दा समाजमा नकारात्मक भ्रम सृजना हुने भन्दै उहाँले यसप्रति सचेत रहन सबैलाई आग्रह गर्नुभयो । नेता सिंहले देशको हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको भन्दै एमसीसीबारे जनताप्रति फैलाइएको नकारात्मक भ्रम चिर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीको संगठन बलियो बनाउनका लागि सबै लाग्नुपर्ने बताउनुभयो । यसपटक कांग्रेसको पक्षमा लहर आएको भन्दै उहाँले सबैले मेहनत गर्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाले भ्रमको पक्षमा नलागी जनताको घरघरमा पुगेर कांग्रेसको पक्षमा भोट माग्न सबैलाई आग्रह गर्नुभयो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी १५० जनाभन्दा बढी कांग्रेसमा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर