विश्वका चार देशबाट तरकारीको आयात आकाशियो, नेपालमा आलु, प्याज र गोलभँेडाको परनिर्भरता चुलिँदै — OSNepal

विश्वका चार देशबाट तरकारीको आयात आकाशियो, नेपालमा आलु, प्याज र गोलभँेडाको परनिर्भरता चुलिँदै

LC (KTM) April 02, 2022 0

काठमाडौैँ, १९ चैत : नेपालमा चालु आर्थिक वर्षको आठ महिनामा विश्वका चार देशबाट तरकारीको आयात आकाशिएको छ । आर्थिक वर्ष २०७७÷७८ को (फागुन) मसान्तमा रु ११ अर्ब ५२ करोड ९५ लाख ९७ हजार मूल्यबराबर आलु, प्याज र गोलभेँडा भारत, चीन, बङ्गलादेश तथा इन्डोनेशियाबाट आयात भएको हो ।

झण्डै ६५ प्रतिशत कृषि पेशामा आबद्ध जनताका घरघरमा अत्यावश्यक पर्ने तरकारी अन्य मुलुकबाट आयात गरी भान्सा तयार गर्नुपर्ने भएपछि कृषि प्रधान मुलुकभन्दा आफैँमा लाजमर्दो विषय बन्दै गएको छ । सबैभन्दा धेरै आलु भारतबाट रु छ अर्ब ५६ करोड ४६ लाख ४३ हजार र बङ्गलादेशबाट रु २४ करोड ८१ लख ५९ हजार गरी कूल रु छ अर्ब ८१ करोड २८ लाख दुई हजार मूल्य बरबार–भारतबाट २५ करोड ८१ लाख ३२ हजार ८३७ र बङ्गलादेशबाट एक करोड ४६ लाख ३८ हजार ८०० किलो आलु आयात भएको छ ।

सोही अवधिमा रु चार अर्ब ३० करोड ५४ लाख ३९ हजार मूल्यको प्याज भारत र चीनबाट आयात भएको छ । भारतबाट ११ करोड ५५ लाख ३२ हजार ६८७ किलो र चीनबाट ७३ हजार ६८० किलो प्याज आयात भएको हो ।

त्यसैगरी यसै अवधिमा रु ४१ करोड १३ लाख ५६ हजार मूल्यका गोलभँेडा आयात भएको छ । भारतबाट रु ४१ करोड १३ लाख ४५ हजार र इन्डोनेशियाबाट रु ११ हजार मूल्यका गोलभँेडा आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

सो अवधिमा भारतबाट तीन करोड ८० लाख चार हजार ३३९ किलो र इन्डोनेशियाबाट ६२५ किलो गोलभँेडा आयात भएको छ । इन्डोनेशियाको गोलभँेडा सलादका लागि आयात भएको हो । तीनथरि तरकारीको आयातलाई तथ्याङ्कका रूपमा केलाउँदा गोलभँेडाको उत्पादनमा भने प्रगति हुँदै गएको देखिन्छ ।

यहाँ आलु, प्याज र गोलभँेडा खेतीको प्रचुर सम्भावना छ । यति हँुदाहँुदै पनि डरलाग्दो आयात हुनुले नेपालमा आलु, प्याज र गोलभँेडाको परनिर्भरता चुलिँदै गएको देखिन्छ । नेपाल सरकारले आगामी दुई वर्षमा नेपाललाई तरकारी बालीमा आत्मानिर्भर बनाउने घोषणा गरेको भए पनि प्रतिफल न्यून देखिन्छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आगामी दुई वर्ष अर्थात् आव २०७७÷७८ बाट प्रमुख तरकारी बालीमा नेपाल पूर्णआत्मनिर्भर हुने घोषण भएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आव २०७४÷७५ बाट सुरु भएको हो । परियोजना आव २०८२÷८३ सम्म सञ्चालनमा रहने परियोजना व्यवस्थापन एकाइले जनाएको छ ।

नेपालका सबै जिल्लामा आलुखेती गरिन्छ । आलुखेती हुन थालेको २०० देखि २५० वर्षको इतिहास छ । आव २०७६÷७७ को सरकारी तथ्याङ्कानुसार एक लाख ८८ हजार हेक्टर क्षेत्रफलमा आलुखेती भई वार्षिक ३१ लाख ३१ हजार ८३० मेट्रिक टन आलु उत्पादन भएको तथ्याङ्कमा उल्लेख छ ।

यसै आवको आठ महिनामा भारत र बङ्गलादेशबाट दुई लाख ७२ हजार ७७१ मेट्रिक टन आलु आयात भएपछि नेपालीका लागि कूल ३४ लाख चार हजार ६०१ मेट्रिक टन आलु आवश्यक पर्दछ ।

प्याजखेतीमा नाफा नदेखेर किसान आकर्षित हुनसकेका छैनन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्कानुसार आव २०७६÷७७ मा लगभग तीन लाख मेट्रिक टन प्याज उत्पादन भएको तथ्याङ्क छ । चालु आवको आठ महिनामा भारत र चीनबाट एक लाख १५ हजार ६०६ मेट्रिक टन प्याज आयात भएको हो । नेपालीका लागि उत्पादन र आयातलाई हेर्दा झण्डै चार लाख १५ हजार ६०६ मेट्रिक टन प्याजको आवश्यकता पर्ने देखिन्छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर