खोटाङका ३५ मतदानस्थल अतिसंवेदनशील — OSNepal

खोटाङका ३५ मतदानस्थल अतिसंवेदनशील

LC (KTM) April 04, 2022 0

खोटाङ, २१ चैत-आगामी वैशाख ३० गते देशभर एकैसाथ सञ्चालन हुने स्थानीय तहको निर्वाचनअन्तर्गत खोटाङमा १३६ मतदानस्थल र १९४ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये ३५ वटा अतिसंवेदनशील, ५८ वटा संवेदनशील र ४३ वटा सामान्यमा राखिएको छ । सुरक्षा संयन्त्रको पहुँच, विगतका घटना र भौगोलिक विकटताको आधारमा जिल्लामा तीन समूहमा वर्गीकरण गरेर शान्ति÷सुरक्षाको व्यवस्था मिलाउने तयारी गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिनुभयो । मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षाका लागि जिल्लामा कार्यरत सुरक्षाकर्मी तथा म्यादी प्रहरी अभाव हुने भएकाले थप सुरक्षाकर्मी सम्बन्धित निकायमा माग गर्ने तयारी गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २४ मतदानस्थल र ४४ मतदान केन्द्र, हलेसी तुवाचुङ नगरपालिकामा १८ मतदानस्थल र २७ मतदान केन्द्र निर्धारण गरिएको छ । त्यस्तै केपिलासगढी गाउँपालिकामा १३ मतदानस्थल र १५ मतदान केन्द्र, ऐँसेलुखर्क गाउँपालिकामा १३ मतदानस्थल र १५ मतदान केन्द्र, रावाबेँसी गाउँपालिकामा १० मतदानस्थल र १४ मतदान केन्द्र, साकेला गाउँपालिकामा आठ मतदानस्थल र १२ मतदान केन्द्र, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १३ मतदानस्थल र १८ मतदान केन्द्र, खोटेहाङ गाउँपालिकामा १५ मतदानस्थल र २१ मतदान केन्द्र, बराहपोखरी गाउँपालिकामा १० मतदानस्थल र १३ मतदान केन्द्र तथा जन्तेढुङ्गा गाउँपालिकामा १२ मतदानस्थल र १५ मतदान केन्द्र निर्धारण गरिएको छ ।

कुन स्थानीय तहमा कति मतदाता
दश स्थानीय तह रहेको खोटाङमा यसवर्षको निर्वाचनमा एक लाख ४३ हजार ७५२ जनाले मतदान गर्न पाउने भएका छन् । स्थानीय निर्वाचनमा जिल्लाका ६८ हजार ७४६ महिला र ७५ हजार ६०० ले मतदान गर्न पाउने भएका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३४ हजार ७८, हलेसी तुवाचुङ नगरपालिकामा २० हजार ९२१ मतदाता छन् । त्यस्तै केपिलासगढी गाउँपालिकामा १० हजार ८३८, ऐँसेलुखर्क गाउँपालिकामा ११ हजार ४९५, रावाबेँसी गाउँपालिकामा नौ हजार ६१८, साकेला गाउँपालिकामा आठ हजार ५४८, खोटेहाङ गाउँपालिकामा १५ हजार २४५, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १३ हजार ४३१, बराहपोखरी गाउँपालिकामा नौ हजार ३६४ र जन्तेढुङ्गा गाउँपालिकामा १० हजार २१३ मतदाता छन् । यो वर्ष कायम भएको जिल्लाभरका कूल मतदातामध्ये २०७४ को निर्वाचनको तुलनामा २८ हजार ११० मतदाता बढी रहेको जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिनुभयो ।

दशवटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकियो
स्थानीय तहको निर्वाचनका लागि खोटाङका दशवटै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई जिम्मेवारी तोकिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य निर्वाचन अधिकृतका रूपमा जिल्ला अदालत खोटाङमा कार्यरत जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यलाई जिम्मेवारी तोकिएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाका लागि जिल्ला सरकारी वकिल कार्यालय खोटाङका जिल्ला न्यायधिवक्ता सङ्गीता न्यौपाने (ढुङ्गेल)लाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ । खोटेहाङ गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत गेहेन्द्रराज रेग्मी, जन्तेढुङ्गा गाउँपालिकामा महालेखा नियन्त्रक कार्यालय काठमाडौँका उपसचिव मानबहादुर मगर, बराहपोखरी गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ विराटनगरका उपसचिव कोपिला राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत गम्भीर घिमिरे, साकेला गाउँपालिकाका लागि नेपाल कानून आयोगका उपसचिव राजन नेपाललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ ।

त्यस्तै, ऐासेलुखर्क गाउँपालिकामा जिल्ला अदालत खोटाङका स्रेस्तेदार रामाकान्त यादव, केपिलासगढी गाउँपालिकामा इलाका प्रशासन कार्यालय साँखुका उपसचिव राजकुमार राई, रावाबेँसी गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत लालबहादुर कार्कीलाई निर्वाचन अधिकृत तोकिएको छ । जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई यही चैत २९ देखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरेको निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ । (रासस) :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर